बिर्तामोड । वरिष्ठ गायक तथा चलचित्र प्रस्तुतकर्ता रामकृष्ण ढकालले नेपाली कथानक चलचित्र ‘मालती मङ्गले’ एक पूर्ण पारिवारिक र सामाजिक चलचित्र भएको बताउनुभएको छ । गोर्खा फाउण्डेशनद्वारा झापाको बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले आगामी वैशाख २५ गतेदेखि देशभरका हलहरूमा एकसाथ प्रदर्शन हुन लागेको यस चलचित्रलाई माया गरिदिन दर्शकहरूसँग आग्रह गर्नुभएको हो ।

प्रस्तुतकर्ता ढकालले चलचित्रमा प्रेमिल भावनाका साथै समाजको यथार्थ चित्रण गरिएको उल्लेख गर्नुभयो । हाँसो र रोदनको सन्तुलित सम्मिश्रण रहेको यस चलचित्रका गीतहरूले दर्शकको मन जित्नेमा आफू विश्वस्त रहेको उहाँको भनाइ थियो । यो सबै प्रकारका दर्शकले हेर्न मिल्ने गरी निर्माण गरिएको उहाँले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा बोल्दै कलाकार विजय बरालले चलचित्र ‘मालती मङ्गले’ ले समसामयिक घटनाहरूलाई उठान गरेकाले यसले दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गर्ने बताउनुभयो । यस्तै नायिका वर्षा राउतले चलचित्रको कथावस्तु र प्रस्तुतिले दर्शकहरूलाई पूर्ण न्याय दिलाउने विश्वास व्यक्त गर्नुभयो । अर्का कलाकार म्याक्सम गौडेलले आफू यसपटक फरक र विशेष भूमिकामा देखिएको बताउँदै पारिवारिक भावना बोकेको चलचित्र सबैका लागि रुचिकर हुने उल्लेख गर्नुभयो । गायिका सलिना विकले वरिष्ठ गायक ढकालसँग साङ्गीतिक सहकार्य गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।
यसैबीच, चलचित्रको प्रचारप्रसार र साङ्गीतिक यात्राका क्रममा ‘म्यूजिकल टूर २०२६’ को टोलि बिर्तामोडस्थित वन स्टप मलको परिसरमा विशेष साङ्गीतिक कार्यक्रम आयोजना गरिएको गोर्खा फाउण्डेशनका अध्यक्ष वीरु दर्नालले बताउनुभयो।


















