नयाँ दिल्ली– रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) का स्टार ब्याटर विराट कोहलीले इन्डियन प्रिमियर लिग (आईपीएल) मा नयाँ इतिहास रचेका छन् । आईपीएल २०२६ अन्तर्गत सोमबार राति दिल्ली क्यापिटल्सविरुद्धको खेलमा कोहली लिग इतिहासमै ९ हजार रन पूरा गर्ने पहिलो ब्याटर बनेका हुन् ।
अरुण जेटली स्टेडियममा दिल्लीविरुद्ध ११ रन जोड्ने क्रममा कोहलीले यो अविश्वसनीय कोशेढुङ्गा पार गरेका थिए । विशेष त उनले छक्का प्रहार गर्दै ९ हजार रनको आँकडा छुन सफल भए । यो उपलब्धिका लागि उनले २ सय ६७ इनिङ्स खेलेका छन् ।
आईपीएलको सर्वाधिक रनकर्ताको सूचीमा कोहली आफ्ना समकालीन खेलाडीभन्दा निकै अगाडि छन् । कोहलीको नाममा हाल ९ हजार १२ रन छ । यो सूचीको दोस्रो स्थानमा रहेका मुम्बई इन्डियन्सका पूर्व कप्तान रोहित शर्माले ७ हजार १ सय ८३ रन बनाएका छन् । त्यस्तै शिखर धवन ६ हजार ७ सय ६९ रनसहित तेस्रो स्थानमा छन् ।
कोहलीले आईपीएलका २ सय ७५ खेलमा ८ शतक र ६६ अर्धशतक प्रहार गरिसकेका छन् । यसका साथै उनी कुनै एक निश्चित टोलीविरुद्ध सर्वाधिक रन बनाउने ब्याटर पनि बनेका छन् । उनले चेन्नई सुपर किंग्सविरुद्ध १ हजार १ सय ७४ र दिल्ली क्यापिटल्सविरुद्ध १ हजार १ सय ७२ रन बनाएका छन् ।


















