काठमाडौँ । शेर्पा समुदायले आज विभिन्न सांस्कृतिक एवं धार्मिक कार्यक्रमहरू आयोजना गरी ग्याल्पो ल्होसार पर्व मनाइरहेका छन्। शेर्पा भाषामा ‘ल्हो’ को अर्थ वर्ष र ‘छार’ को अर्थ नयाँ हुने भएकाले यस पर्वलाई नयाँ वर्षका रूपमा हर्षोल्लासका साथ मनाउने परम्परा रहेको छ। विशेष गरी नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदाय र महायान बौद्ध परम्परामा चन्द्रमास गणना गरी फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्ष सुरु हुने विश्वासका साथ यो पर्व मनाइन्छ।

ग्याल्पो ल्होसारको अवसरमा शेर्पा समुदायले आफ्नो गाउँघर, टोलका बाटोघाटो तथा पानीका मूलहरूको सरसफाइ गरी नयाँ वर्षको स्वागत गर्ने गर्दछन्। यस पर्वमा नौ प्रकारका अन्न मिसाएर बनाइएको विशेष परिकार ‘गुथुक’ र मैदाबाट बनेको ‘खाप्से’ खाने तथा आपसमा शुभकामना साटासाट गर्ने गरिन्छ। पारिवारिक एवं सामाजिक मेलमिलाप अभिवृद्धि गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिइने यस पर्वमा स्याब्रु नृत्य र तुङ्गनाको मधुर धुनले थप उल्लास भर्ने गर्दछ।

नयाँ वर्षका रूपमा मनाइने यो पर्वले समाजमा नयाँ आशा र उमङ्ग सञ्चार गर्दै आपसी प्रेम, भाइचारा, सद्भाव र एकताको भावनालाई अझ सबल बनाउने विश्वास गरिन्छ। पर्वको अवसरमा गुम्बा दर्शन गर्ने र धर्मगुरु तथा लामाहरूबाट आशीर्वाद प्राप्त गर्ने परम्परा समेत रहेको छ। खाप्से, डेशिल र गुथुक जस्ता मौलिक परिकारको स्वाद लिँदै परिवार र समुदायबीचको सम्बन्धलाई थप घनिष्ठ बनाउनु नै ग्याल्पो ल्होसारको मुख्य विशेषता हो। यो पर्वले नेपालीहरूको सांस्कृतिक विविधता र मौलिक पहिचानलाई विश्वसामु उजागर गर्न समेत सहयोग पुर्‍याएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार