ढाका (बंगलादेश) — बंगलादेश र नेपालका फोटोपत्रकारहरूले सडक आन्दोलन तथा जनउठानका समयमा कार्यक्षेत्रमा भोग्नुपर्ने जोखिम र व्यावसायिक सुरक्षाका चुनौतीबारे अनुभव साटासाट गरेका छन्।

​ढाकास्थित प्रेस इन्स्टिच्युट बंगलादेश (पीआईबी) मा मंगलबार सम्पन्न ‘फोटोग्राफर अन द स्ट्रिट’ शीर्षकको अन्तर्राष्ट्रिय सेमिनारमा दुवै देशका विज्ञहरूले फोटोपत्रकारिताका विविध आयामबारे चर्चा गरेका हुन्। विशेष गरी सडकमा हुने प्रदर्शनका बेला फोटो खिच्दा आइपर्ने शारीरिक जोखिम, पेसागत नैतिकता, प्रेस स्वतन्त्रता र सुरक्षा निकायबाट हुने व्यवहारबारे विस्तृत छलफल भएको थियो।

​कार्यक्रमका वक्ताहरूले संकटका बेला सत्य र यथार्थ दृश्य कैद गर्न फोटोपत्रकारहरूले ठूलो मूल्य चुकाउनुपरेको उल्लेख गरे। उनीहरूले फोटोपत्रकारहरू केवल तस्बिर खिच्ने माध्यम मात्र नभई इतिहासका जीवन्त साक्षी भएको धारणा राखे।

​“सडक आन्दोलनको समाचार संकलन गर्दा एउटा फोटोपत्रकारले एकातिर आफ्नो ज्यान जोगाउनुपर्ने हुन्छ भने अर्कोतिर महत्त्वपूर्ण दृश्य छुटाउनु हुँदैन,” सहभागी एक फोटोपत्रकारले भने, “यस्तो समयमा पेसागत मर्यादा र सुरक्षाबीचको सन्तुलन कायम राख्नु चुनौतीपूर्ण छ।”

​सेमिनारमा नेपाल र बंगलादेशबीच फोटोपत्रकारिताका माध्यमबाट व्यावसायिक सहकार्य, अनुभव आदान–प्रदान र क्षमता अभिवृद्धिका लागि नियमित कार्यक्रमहरू हुनुपर्नेमा जोड दिइएको छ। कार्यक्रममा दुवै देशका वरिष्ठ सञ्चारकर्मी, फोटोपत्रकार तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति थियो। दुई देशका फोटोपत्रकारहरूबीचको यस्तो अन्तर्क्रियाले क्षेत्रीय स्तरमा प्रेस स्वतन्त्रता र व्यावसायिकताको रक्षा गर्न मद्दत पुग्ने विश्वास लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार