काठमाडौं । सत्तारुढ गठबन्धनमा उच्चस्तरीय राजनीतिक संयन्त्रण निर्माणको विषयले अहिले टाउको दुखाउन थालेको छ । देउवा सरकारलाई विस्थापित गरेर कांग्रेस सभापति शेरबहादुर देउवा सत्तारोहण गरेको बिहीबार १० दिन पुगेको छ ।
तर, सत्तासाझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार सञ्चालन र सत्तारूढ दलहरूबीच समन्वयन गर्न उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्न प्रधानमन्त्री देउवामाथि दबाब सृजना गरिरहेका छन् ।
माओवादी केन्द्रको स्थायी कमिटीको बैठकमा नेताहरुले संयन्त्र गठनमा पनि जोड दिएका हुन् । सरकारलाई नीतिगत सहयोग गर्न र गठबन्धनमा रहेका सबै दलहरूलाई विश्वासमा लिनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्रको माग प्रचण्डले गरेका छन् ।
संयन्त्रको संयोजक आफूलाई दिन प्रचण्डले प्रधानमन्त्री देउवासहित गठबन्धनमा रहेका दलका शीर्षनेताहरु भन्ने गरेका छन् । पूर्ववर्ती सरकारको पालामा पनि राजनीतिक संयन्त्र गठन गर्न र त्यसको नेतृत्व आफूलाई दिन आग्रह गरेका प्रचण्डलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमाथि हावी हुन र नियन्त्रण गर्न खोजेको आरोप लगाएर अस्वीकार गरेका थिए ।
हरेक सहमति र सरकार गठनपछि प्रचण्डले राजनीतिक संयन्त्र गठनको माग गर्दै आउने गरेका छन् । र अहिले पनि प्रचण्डले प्रधानमन्त्री देउवामाथि राजनीतिक संयन्त्र गठनका लागि दबाब दिइरहेको नेताहरुले बताएका छन् ।
कोरोनाभाइरस संक्रमणको महामारीसँग जुध्न पनि राजनीतिक संयन्त्र गठनको चर्चा चलेको थियो । २०७२ असोज २८ गते तत्कालीन सरकारलाई समर्थन गर्ने दलहरुलाई समेटेर प्रचण्डकै संयोजकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गरिएको थियो ।
जसमा तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली स्थायी आमन्त्रित सदस्य थिए । उक्त संयन्त्रमा एमाले, माओवादी, तत्कालीन राप्रपा नेपाल, फोरम लोकतान्त्रिक, राप्रपा, माले, नेमकिपा, राष्ट्रिय जनमोर्चा र नेकपा संयुक्त सहभागी थिए ।
त्यसयता हरेक वर्षजस्तो प्रचण्डले उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्नुपर्नेमा जोड दिँदै आएका छन् । र अहिले गठबन्धनको सरकारको नेतृत्व लिएका देउवामाथि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्न र त्यसको नेतृत्व आफूलाई दिन दबाब दिइरहेका छन् ।
सरकारभन्दा माथि रहने गरी उनले संयन्त्र निर्माणमा जोड दिएको कांग्रेस नेताहरुको भनाइ छ । प्रधानमन्त्री देउवाले संयन्त्र गठनलाई अस्वीकार गरे पनि प्रचण्डले दबाब दिइरहेका छन् ।
सरकारलाई नियन्त्रणमा राख्न तथा प्रधानमन्त्रीभन्दा आफू शक्तिशाली बन्न प्रचण्डले उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माणमा जोड दिने गरेको आरोप लाग्दै आएको छ । क्यानाडा नेपालबाट
















