अभिशेक खतिवडा / हल्दिबारी गाउँपालिका–२ ले वडाभित्रका करिब ५ सय विद्यार्थीका लागि शैक्षिक सामग्री वितरण कार्यक्रम सुरु गरेको छ। आज (बिहीबार) सस्वती आधारभूत विद्यालयबाट प्रारम्भ गरिएको कार्यक्रममा वडा भित्रका पाँच वटा सामुदायिक विद्यालयका बालकक्षा देखि कक्षा ५ सम्मका विद्यार्थीहरू लाभान्वित हुने छन्।
कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समिति अध्यक्ष खिनादेवी घिमिरेले गर्नु भएको थियो। वडा अध्यक्ष शुकलाल राजवंशी प्रमुख अतिथि रहनु भएको कार्यक्रममा वडा सचिव मदन थापा, जनप्रतिनिधिहरू अम्बिका तोलाङ्गी राई, रचना राई, गणेश मगर, शिक्षक अभिभावक संघ अध्यक्ष कमल प्रसाद फुयाल लगायतको उपस्थिति रहेको थियो।
वडा सचिव थापाले नीति तथा कार्यक्रम अन्तर्गत ३ लाख रुपैयाँ बजेट विनियोजन गरी कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनु भयो। वडाले प्रत्येक विद्यालयमा वार्षिक रूपमा शैक्षिक सामग्रीसँगै खेलकुद सामग्रीसमेत वितरण गर्दै आएको छ।
वडा अध्यक्ष राजवंशीले शिक्षा क्षेत्रमा लगानी गर्ने कार्यलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्दै विद्यार्थीहरूको शैक्षिक गुणस्तर अभिवृद्धि कार्यक्रममा सहयोगी हुने विश्वासले कार्यक्रम आयोजना गरेको मन्तव्य व्यक्त गर्नुभयो।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष घिमिरेले वडाप्रतिको आभार प्रकट गर्दै कार्यक्रम सफलताको शुभकामना दिनु भएको कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक गोविन्द बोहोराले गर्नुभएको थियो।

















