बिर्तामोड, १२ वैशाख । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ३ स्थित भाटभटेनी सुपर मार्केट नजिकै आज दिउँसो भएको सवारी दुर्घटनामा परी सात जना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गमा विराटनगरबाट बनियानीतर्फ आउँदै गरेको मे १ ख २६२६ नम्बरको यात्रुवाहक बसले सोही दिशामा गुडिरहेको प्र.१–०१–००२ ह ५१९८ नम्बरको अटोलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो।
दुर्घटनामा परी अटो चालक कचनकवल गाउँपालिका– बनियानीका ३८ वर्षीय अस्मुदिन अन्सारीको टाउकोमा गहिरो चोट लागेको र उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। अटोमा सवार अन्य ६ जना यात्रुहरू सामान्य घाइते भएका छन्। घाइते हुनेहरूमा बिर्तामोड–५ की २२ वर्षीया कल्पना चापागाईं, बिर्तामोड–२ की ३७ वर्षीया भावना अधिकारी, सोही स्थानकी ४ वर्षीया साबिया अधिकारी, ५० वर्षीया लक्ष्मी नेपाल, १२ वर्षीय सुगम नेपाल र बिर्तामोड–१ का ५३ वर्षीय गणेश श्रेष्ठ रहेका छन्।
घाइते सबैको हाल बिर्तासिटि अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ। घटनालगत्तै इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरेको थियो। प्र
हरीले बस, अटो र बस चालक शिवसताक्षी नगरपालिका–११ बस्ने ३६ वर्षीया सुमन उप्रेतीलाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका सवारी साधन र चालकलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।


















