झापा, हल्दिबारी । हल्दिबारी गाउँपालिका–३ मा वडाका युवाहरूबीचको “हल्दिबारी–३ युनिटी फुटबल कप” टोल स्तरीय लिग प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ। प्रतियोगिताको उद्घाटन गाउँपालिकाका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
उद्घाटन कार्यक्रममा वडा नं–३ का अध्यक्ष विष्णु ओली, वडा सदस्य कर्ण भण्डारी, नेपाली कांग्रेस हल्दिबारीका सभापति गंगा प्रसाईं, रातमाटे सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जनक तामाङ, जलथल प्रहरी चौकीका इन्चार्ज सञ्जिव चौधरी, ढडुवा बजार व्यवस्थापन समितिका उपाध्यक्ष तुलसा आचार्य, पञ्चायत माध्यमिक विद्यालयका प्रधानाध्यापक डिल्लीराम ढुङ्गेल, ग्रामीण प्रेस क्लबका अध्यक्ष नेत्र विक्रम बिमली, सञ्चारकर्मी जनक राजवंशी तथा हेमन्त मैनाली खेलाडी दर्शक र अफिसियल लगायतको उपस्थिति रहेको थियो।
प्रतियोगिताअन्तर्गत उद्घाटन खेलमा जलथल–३ ले जलथल–१ माथि ५–१ को सहज जित दर्ता गर्यो। जलथल–३ का जर्सी नम्बर ९ का अमृत मेचेले ह्याट्रिक गर्दै टोलीको जितमा निर्णायक भूमिका खेले। उनले पहिलो हाफमा एक तथा दोस्रो हाफमा थप दुई गोल गरेका थिए। जलथल–१ का मन्दिप बोहोराले एक गोल फर्काए पनि खेलमा फर्किन सकेनन्। सोही खेलमा हल्दिबारी–३ का विवेक राईले एक गोल थपेका थिए।
दोस्रो खेलमा जलथल–४ ले जलथल–२ लाई ६–० को फराकिलो अन्तरले पराजित गर्यो। जलथल–४ का कप्तान किरण मेचेले चार गोल गर्दै उत्कृष्ट प्रदर्शन गरे। हिमाल लिम्बु र खड्ग लिम्बुले एक–एक गोल थपेपछि जलथल–४ ले प्रभावशाली जित हासिल गरेको हो।
पहिलो खेलका ‘म्यान अफ द म्याच’ अमृत मेचे र दोस्रो खेलका ‘म्यान अफ द म्याच’ किरण मेचेलाई आयोजकले जनही रु ५०० नगदसहित सम्मान गरेको थियो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि लिङ्देनले खेलकुदले युवालाई अनुशासन, नेतृत्व र सकारात्मक दिशातर्फ उन्मुख गराउने उल्लेख गर्दै प्रतियोगिताको सफलताका लागि शुभकामना व्यक्त गरे।
ढडुवा युवा क्लबको आयोजनामा सम्पन्न प्रतियोगितामा क्लबका अध्यक्ष कुलबहादुर न्यौपानेको अध्यक्षता रहेको थियो भने कार्यक्रम सञ्चालन सचिव अभिषेक खतिवडाले गरेका थिए। प्रतियोगिताले स्थानीय युवाबीच आपसी सद्भाव, एकता र खेलकुद संस्कृतिको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

















