​हल्दिबारी । “हल्दीबारीको दृष्टि: कृषि र पर्यटनमार्फत समृद्धि” भन्ने मूल मन्त्र बोकेको हल्दीबारी गाउँपालिकाले विकासको भौतिक स्वरूपलाई मात्र होइन, मानवीय संवेदनालाई पनि उत्तिकै प्रगाढ रूपमा आत्मसात् गरेको छ। विकास भनेको चिल्ला सडक र ठूला भवन मात्र हुन् भन्ने भाष्यलाई चिर्दै हल्दीबारीले आफ्ना नागरिकको शारीरिक सीमिततामा सहारा बन्ने प्रयासलाई तीव्रता दिएको छ। यसैको उदाहरण स्वरूप, गाउँपालिकाले शारीरिक रूपमा अपाङ्गता भएका नागरिकहरूलाई सहायक सामग्री वितरण गरिएको छ ।

​गाउँपालिकाका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनको अध्यक्षतामा आयोजित एक विशेष समारोहका बीच ती सहयोगी सामग्रीहरू हस्तान्तरण गरिएका हुन्। हल्दीबारी गाउँपालिकाको आयोजना तथा करुणा फाउण्डेशन र राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेशको सहकार्यमा करिब ५ लाख २५ हजार रुपैयाँ बराबरका अत्याधुनिक सहायक सामग्रीहरू लक्षित समुदायलाई वितरण गरिएको हो।

​कार्यक्रममा ९ जनालाई श्रवण यन्त्र, हिँडडुलमा सहजताका लागि ८ जनालाई ह्वीलचियर , १० जनालाई छडी । त्यस्तै, ७ जनालाई शौचालय कुर्सी, २ जनालाई विशेष जुत्ता, घाँटीको समस्या भएका १ व्यक्तिलाई ‘नेक कलर’ प्रदान गरिएको छ। शारीरिक पुनस्र्थापनाका लागि २ जनालाई वाकर, २ जनालाई सीपी ह्वीलचियर, २ जनालाई उभिने फ्रेम र ३ जनालाई वैशाखी वितरण गरिएको थियो ।

​यति मात्र होइन, मानवीय संवेदनशीलतालाई ध्यान दिँदै पूर्ण अशक्त र अति अशक्त नागरिकहरूका लागि २१ थान डाइपर, ७१ थान सेनेटरी प्याड र ८ वटा फस्ट एड ब्याग पनि वितरण गरियो। कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष लिङ्देनले पालिकाको बजेट र योजनामा अपाङ्गता भएका व्यक्तिहरूलाई सधैँ प्राथमिकतामा राखिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र) र वडा नं. २ का वडा अध्यक्ष शुक्लाल राजवंशी लगायतले गाउँपालिकाले सामाजिक सुरक्षा र समावेशी विकासमा चालेका कदमहरूको चर्चा गर्दै यस्ता कार्यक्रमले नागरिक र सरकारबीचको सम्बन्धलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो।

​महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख तृष्णा थापा मगरले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा जनप्रतिनिधिहरू, अपाङ्गता भएका व्यक्ति, अभिभावक र सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति थियो। सामग्री पाएकोमा अपाङ्गता भएका व्यक्तिहरूको अभिभावकले गाउँपालिकाको यो कार्यप्रति खुसी व्यक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार