समाचार
हल्दिबारी संवाददाता २ महिना अगाडि

हल्दीबारीमा ज्येष्ठ नागरिक भवन निर्माण सुरु: दुःखसुख साटासाट गर्ने चौतारी बनाउन १५ लाखको लागत अनुमान, सहयोगका लागि अपिल

हल्दीबारी, झापा ।साविक जलथल गाविस र हाल हल्दीबारी गाउँपालिका वडा नम्बर ३, ४ र ५ क्षेत्रका ज्येष्ठ नागरिकहरूको ‘आत्मकथा बिसाउने चौतारी’ को रूपमा ज्येष्ठ नागरिक भवन निर्माण कार्य सुरु भएको छ। ज्येष्ठ नागरिकहरू एकजुट भई आफ्ना सुखदुःख साटासाट गर्ने र रचनात्मक छलफल गर्ने साझा थलोको रूपमा यो भवन निर्माण गर्न लागिएको हो।

​हल्दीबारी गाउँपालिका वडा नम्बर ४ ले आफ्नो वडा कार्यालय कम्पाउन्डभित्र १५ धुर जग्गा उपलब्ध गराएपछि भवन निर्माणको कामले गति लिएको हो। गाउँपालिकाबाट प्राप्त ४ लाख रुपैयाँ सहयोगबाट भवन निर्माणको प्रारम्भिक कार्य सुरु गरिएको ज्येष्ठ नागरिक अगुवा ओमकृष्ण सिलवालले जानकारी दिनुभयो।

विज्ञापन (Advertisement)Advertisement

यस क्षेत्रका ज्येष्ठ नागरिकहरू लामो समयदेखि संगठित रूपमा सक्रिय रहँदै आएका छन्। वि.सं. २०६९ सालदेखि नै विभिन्न गतिविधि गर्दै आएका उनीहरूले २०७१ सालमा ‘ज्येष्ठ नागरिक कृषि सहकारी संस्था’ दर्ता गरी संस्थागत रूपमा ऐक्यबद्धता जनाउँदै आएका हुन्। संस्थाका सचिव अर्जुन प्रसाद गिरीका अनुसार हाल यस संस्थामा २१० जना ज्येष्ठ नागरिकहरू आवद्ध रहेका छन्। ज्येष्ठ नागरिकहरूको हकहित र सहकार्यका लागि यो संस्था यस क्षेत्रमा उदाहरणीय बन्दै आएको छ।

गाउँपालिकाबाट प्राप्त रकमले भवन निर्माणको केही काम सम्भव भए तापनि यसलाई पूर्णता दिन अझै ठुलो रकमको आवश्यकता रहेको छ। संस्थाकी उपाध्यक्ष पुण्यकुमारी लामिछानेका अनुसार भवन निर्माण कार्य पूर्ण रूपमा सम्पन्न गर्न करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

​बजेट अभावका कारण भवन निर्माण कार्य नरोकियोस् भन्नका लागि उपाध्यक्ष लामिछानेले जलथल क्षेत्र तथा अन्य क्षेत्रमा बसोबास गर्नुहुने दानवीर दाताहरू, समाजसेवीहरू एवं वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न मुलुकमा रहनुहुने सन्ततिहरूलाई भवन निर्माणका लागि खुला हृदयले आर्थिक सहयोग पुर्‍याइदिन हार्दिक अपिल गर्नुभएको छ।

​हल्दीबारी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीदेवी मैनाली यस संस्थाको कोषाध्यक्षको रूपमा रहनुभएको छ। भवन निर्माण सम्पन्न भएपछि यस क्षेत्रका ज्येष्ठ नागरिकहरूलाई एकै ठाउँमा भेला हुन, भलाकुसारी गर्न र आफ्ना अनुभवहरू नयाँ पुस्तामा हस्तान्तरण गर्न निकै सहज हुने विश्वास लिइएको छ।

​ज्येष्ठ नागरिकहरूको यो पवित्र अभियानमा सहभागी भई सहयोग गर्न चाहनुहुने महानुभावहरूले संस्थाको नाममा रहेको निम्न बैंक खातामा सिधै रकम जम्मा गर्न सक्नुहुनेछ:

  • बैंकको नाम: सिटिजन बैंक, हल्दीबारी शाखा, झापा
  • खाता नम्बर: ०६३०१००००१०५७२०१
  • खातावालाको नाम: ज्येष्ठ नागरिक कृषि सहकारी संस्था

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)