हल्दीबारी, झापा । हल्दीबारी गाउँपालिकाको एक्काइसौँ गाउँसभाको अवसरमा गाउँपालिकाका प्रशासन शाखा प्रमुख बाबुराम ढकाल उत्कृष्ट कर्मचारीका रूपमा सम्मानित हुनुभएको छ।
गाउँपालिकाले लामो समयदेखि इमान्दारिता, कर्मनिष्ठा र जिम्मेवारीपूर्ण ढंगले सेवा प्रवाह गर्दै आउनुभएको योगदानको उच्च मूल्याङ्कन गर्दै ढकाललाई कदरपत्रसहित सम्मान गरेको हो। उहाँलाई गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली तथा प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्रले संयुक्त रूपमा सम्मान गर्नुभएको थियो।
ढकालले करिब २८ वर्षदेखि विभिन्न निकायमा सेवा गर्दै आउनुभएको छ। विगत ९ वर्षदेखि हल्दीबारी गाउँपालिकामा वडा सचिव तथा हाल प्रशासन शाखा प्रमुखको जिम्मेवारी सम्हाल्दै आउनुभएका उहाँको सेवा अवधि आगामी मंसिर महिनामा समाप्त हुने क्रममा रहेको छ।
गाउँपालिकाभित्र सरल, मिलनसार तथा सेवाग्राहीमैत्री कर्मचारीका रूपमा परिचित ढकाललाई सहकर्मी तथा स्थानीयवासीले पनि एक इमान्दार, कर्मठ र जिम्मेवार कर्मचारीका रूपमा चिन्ने गरेका छन्। उहाँको कार्यसम्पादन, अनुशासन तथा सेवाप्रतिको समर्पणको कदरस्वरूप गाउँसभाको अवसर पारेर सम्मान गरिएको गाउँपालिकाले जनाएको छ।
त्यसैगरी, ३५ वर्षसम्म महिला स्वास्थ्य स्वयंसेविकाको रूपमा निरन्तर सेवा पुर्याई अवकाश प्राप्त गर्नुभएकी पवित्रा गिरीलाई पनि विदाईसहित सम्मान गरिएको थियो। समुदायस्तरमा स्वास्थ्य सचेतना अभिवृद्धि, मातृ तथा शिशु स्वास्थ्य प्रवर्द्धन तथा जनस्वास्थ्य सेवाको पहुँच विस्तारमा उहाँले पुर्याउनुभएको उल्लेखनीय योगदानको कदर गर्दै गाउँपालिकाले सम्मान प्रदान गरेको हो।

एक्काइसौँ गाउँसभाको अवसरमा आयोजित कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी तथा विभिन्न सरोकारवाला व्यक्तिहरूको उपस्थितिमा सम्मान तथा विदाई कार्यक्रम सम्पन्न गरिएको थियो
