हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

मोबाइल प्रयोगले बालबालिकामा एकोहोरो हुने, रिसाउने, झर्किने जस्ता समस्या

काठमाडौँ-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालायले बालबालिकामा मोबाइलको प्रयोगले सर्वाङ्गीण विकासमा असर पार्ने जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले मस्तिष्क विकास हुने अधिकतम उमेरमा मोबाइलको लत लागेमा बालबालिकाको सर्वाङ्गीण विकासमै असर पुग्ने बताउनुुहन्छ । बालबालिकाले मोबाइल फोन चलाउँदा निद्रा ढिलो लाग्ने, निद्रा पातलो हुने र निद्राबाट पटक पटक ब्युँझिने समस्या देखिन सक्नेजस्ता समस्या हुनेमा जोड दिँदै उहाँले बालबालिकालाई मोबाइल फोनसँग टाढा राख्न अभिभावकलाई अनुरोध गर्नुभएको छ ।

Advertisement

यसैगरी बालबालिकाका आमा र बुबा तथा अभिभावकलाई आफ्नो सजिलो र छिटोका लागि बालबालिकालाई मोबाइल देखाएर खानेकुरा नखुवाउनसमेत आग्रह गरिएको छ ।

Advertisement

मोबाइल देखाएर बालबालिकालाई खाना खुवाउनाले बालबालिकाले आफूले के कुरा खाइरहेको छु, कस्तो खानेकुरा खाइरहेको छु भनेर थाहा नपाउने हुँदा पोषणसम्बन्धी समस्या र पाचन प्रणालीमा समस्यासमेत देखिन सक्ने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले खाना खुवाउँदा अभिभावकले बालबालिकासँग कुराकानी गरेर डुलेर, गीत गाएर वा उनीहरुको हाउभाउमा प्रतिक्रिया दिँदै खुवाउन आग्रह गरेको छ ।

यसैगरी मोबाइलमा लत लागेका बालबालिकामा एकोहोरो हुने, रिसाउने, झर्किने, रुने, दोहोरो कुरा नगर्नेजस्ता समस्या देखिन सक्ने बताइएको छ ।

यस्तै बच्चा ठूलो भएपछि झन् खान नमान्ने वा राम्ररी नचपाई खानेकुरा छिटो निल्ने समस्या बढ्नाका साथै सुत्नुभन्दा अगाडि मोबाइल हेरेका बालबालिकामा मोबाइल स्क्रिनबाट आउने उज्जालोले निद्रा लाग्ने हार्मोन उत्सर्जनमा समस्या हुने बताइएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)