समाचार
हल्दिबारी संवाददाता २० मिनेट अगाडि

प्रहरी निरीक्षक हुँ भन्दै २ लाख रुपैयाँ माग गर्ने पाँच जना पक्राउ

काठमाडौँ । सोधपुछका लागि प्रहरी चौकीमा बोलाइएका व्यक्तिका भाइलाई आफू प्रहरी निरीक्षक भएको बताउँदै रकम माग्ने तथा धम्की दिने कार्यमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग काँडाघारीमा एक व्यक्तिलाई सोधपुछका लागि बोलाइएको समयमा भेट्न गएका निजका भाइलाई उक्त क्षेत्रमा रहेका व्यक्तिहरूले आफू प्रहरी निरीक्षक भएको बताएका थिए । उनीहरूले दाजुलाई मुद्दा नचलाई छुटाइदिने भन्दै दुई लाख रुपैयाँको व्यवस्था गर्न माग गरेका थिए । साथै, होटलको खर्च समेत तिर्न लगाइएको र उक्त रकम तिर्न इन्कार गरेपछि फोन तथा म्यासेजमार्फत विभिन्न किसिमका धम्की दिई मानसिक र आर्थिक तनाव दिएको भन्ने सूचना प्राप्त भएको थियो ।

उक्त सूचना प्राप्त हुनासाथ प्रहरी प्रभाग काँडाघारीबाट खटिएको टोलीले काठमाडौँ जिल्ला, कागेश्वरी मनोहरा नगरपालिका-९, पेप्सीकोला चोकबाट घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूमा ओखलढुङ्गा मोलुङ गाउँपालिका-२ घर भई हाल काठमाडौँ चाबहिल बस्ने ३४ वर्षीय टेकराज श्रेष्ठ, रामेछाप लिखु गाउँपालिका-१ घर भई काठमाडौँ कपन बस्ने २९ वर्षीय इन्द्र बहादुर भुजेल र पाल्पा तानसेन नगरपालिका-६ घर भई काठमाडौँ हात्तीडाँडा बस्ने ३३ वर्षीय धिरज रानाभाट रहेका छन् । त्यसैगरी, सिन्धुपाल्चोक जुगल गाउँपालिका-५ घर भई भक्तपुर दुवाकोट बस्ने २५ वर्षीय खेल बहादुर मगर र सिन्धुली मरिण गाउँपालिका-२ घर भई काभ्रेपलान्चोक बनेपा बस्ने ३० वर्षीय हर्क सिंह भोलन पनि पक्राउ परेका छन् ।

पक्राउ परेका पाँचै जनाविरुद्ध अभद्र व्यवहार गर्न नहुने कसूरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट चार दिनको म्याद थप अनुमति लिई घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)