खेलकुद
हल्दिबारी संवाददाता १७ मिनेट अगाडि

हल्दिबारी जेसीजद्वारा आयोजित ५ किमि म्याराथनको उपाधि महतलाई

हल्दिबारी (झापा), १३ मङ्सिर । हल्दिबारी जेसीजको आयोजनामा आइतबार सम्पन्न ५ किलोमिटर म्याराथन दौड प्रतियोगिताको उपाधि हल्दिबारी–३ का कृष्ण महतले जितेका छन् ।

​‘युवाको नेतृत्व, समाजको विकास’ भन्ने मूल नाराका साथ आयोजित प्रतियोगितामा चेस्ट नम्बर १०८ का महतले निर्धारित दूरी १८ मिनेटमा पार गर्दै प्रथम स्थान हासिल गरेका हुन् । यस्तै, हल्दिबारी–५ का सुमन राई (चेस्ट नम्बर १५०) द्वितीय र सोही वडाका निशान लिम्बू (चेस्ट नम्बर १०४) तृतीय भए ।

​प्रथम, द्वितीय र तृतीय हुने धावकहरूले क्रमशः नगद ७ हजार ५ सय, ५ हजार र ३ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा सहभागी एक मात्र महिला धावक रोसिका न्यौपानेलाई १ हजार रुपैयाँ सान्त्वना पुरस्कार प्रदान गरिएको छ । सोही अवसरमा अल्ट्रा धावक रवि कार्कीलाई नगद १ हजार ५ सय रुपैयाँसहित सम्मान गरिएको थियो ।

​विजेताहरूलाई कार्यक्रमका प्रमुख अतिथि एवं हल्दिबारी गाउँपालिकाका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देन लगायत विशिष्ट अतिथिहरूले पुरस्कार वितरण गर्नुभएको थियो । प्रथम पुरस्कार एकराज रानामगर, द्वितीय ढडुवा युवा क्लब र तृतीय पुरस्कार चिल्ड्रेन गार्डेन अंग्रेजी विद्यालय (हल्दिबारी–३) ले सौजन्य गरेका हुन् ।

​हल्दिबारी जेसीजका अध्यक्ष जेसी नितेश खरेलको सभाध्यक्षतामा सम्पन्न समारोहको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष लिङ्देनले युवाहरूलाई खेलकुद र नेतृत्व विकासमा सक्रिय हुन आग्रह गर्नुभयो। कार्यक्रम संयोजक तथा कार्यकारिणी उपाध्यक्ष जेसी मिलन विश्वकर्माले स्वागत मन्तव्य राखेको समारोहमा संस्थापक अध्यक्ष जेसी युनिता दवाडीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेकी थिइन् । समारोहमा वडा नं. ५ का वडाध्यक्ष खड्गबहादुर लावती र प्रथम पुरस्कार दाता एकराज रानामगरले समेत शुभकामना मन्तव्य राखेका थिए ।

​समारोहमा हल्दिबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीनकुमार भट्टराई, संस्थापक अध्यक्ष सल्लाहकार हिमा पौडेल, वडाध्यक्षहरू देवीबहादुर थापा, विष्णुपसाद ओली, सन्तकुमार थापा लगायत स्थानीय सञ्चारकर्मी, समाजसेवी, बुद्धिजीवी तथा सुरक्षा निकायका प्रतिनिधिहरूको उपस्थिति थियो । महासचिव जेसी अनिल चौहानले सञ्चालन गरेको कार्यक्रममा कानुनी सल्लाहकार जेसी योगेश कार्कीले जेसीज आस्था र कोषाध्यक्ष जेसी भीमप्रसाद भट्टराईले मिसन तथा भिजन वाचन गरेका थिए ।

​गाउँपालिका भित्रका करिब ४० जना धावक सहभागी प्रतियोगिता युवाहरूमा नेतृत्व क्षमता, व्यक्तित्व विकास र सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको आयोजकले जनाएको छ ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)