हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

गुणस्तरहीन सिमेन्ट बिक्रीको आरोपमा मारुती सिमेन्टका व्यापार प्रबन्धक पक्राउ

राजविराज । आपराधिक विश्वासघात मुद्दामा मारुती सिमेन्ट उद्योगका व्यापार प्रबन्धक ज्योति जोशीलाई सप्तरी प्रहरीले नियन्त्रणमा लिएको छ । सोही मुद्दामा पक्राउ पुर्जी जारी भएका मारुती सिमेन्ट उद्योगका सञ्चालक नन्दकिशोर राठी र उनका छोरा उद्योगका प्रबन्ध निर्देशक अनुज राठीसहित ७ जना फरार छन् ।

Advertisement

राजविराज–४ का दिवाकर साहले दिएको जाहेरीका आधारमा जिल्ला अदालत सप्तरीबाट पक्राउ पुर्जी जारी भई मारुती सिमेन्टका व्यापार प्रबन्धक ज्योति जोशीलाई तीन दिनअघि नियन्त्रणमा लिएको सप्तरीका प्रहरी प्रमुख एसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिए । प्रहरीले बुधबार नै पाँच दिनको म्याद थप गराई उनीमाथि अनुसन्धान गरिरहेको जनाएको छ ।

Advertisement
राजविराज–४ का दिवाकर साहले आफ्नो घर निर्माणका क्रममा मारुती सिमेन्टको प्रयोग गरेको र सो सिमेन्ट प्रयोग गरी घर बनाउँदा भर्‍याङ लडेपछि सिमेन्ट गुणस्तरहीन भएको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय सप्तरीमा ठगी(आपराधिक विश्वासघात ) मुद्दामा जाहेरी दिएका थिए ।

सोही जाहेरीका आधारमा पक्राउ पुर्जी जारी भई जोशीलाई विराटनगरबाट पक्राउ गरी सप्तरी ल्याइएको छ । प्रहरी स्रोतका अनुसार उक्त मुद्दामा मारुती सिमेन्टका प्रमुख सञ्चालक नन्दकिशोर राठी,प्रबन्ध निर्देशक अनुज राठी,मारुती सिमेन्टका प्रतिनिधि लक्ष्मीप्रसाद सिवाकोटी,डिलर सञ्जय साह,सिमेन्ट बिक्री वितरण गर्ने राजविराज २ का नरेश साहसहित अजयकुमार साह फरार रहेको सप्तरी प्रहरीले जनाएको छ । अदालतबाट पक्राउ पुर्जी जारी भएका उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ ।

गुणस्तरहीन सिमेन्टका कारण आफनो भर्‍याङ ढलेको तथा घर नै क्षतिग्रस्त भएको भन्दै राजविराज–४ का दिवाकर साहले बताए । स्रोतका अनुसार घरधनी साहले क्षतिपूर्तिको माग गरेपछि त्यसमा कुरा नमिल्दा उनी प्रहरीमार्फत मुद्दा प्रक्रियामा गएका हुन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)