नेत्र बिक्रम बिमली
लियोनेल मेस्सीले विश्वकपको इतिहासमा सर्वाधिक गोल गर्ने जर्मनीका मिरोस्लाभ क्लोसको कीर्तिमान तोडेको खेलमा अर्जेन्टिनाले अस्ट्रियामाथि सहज जित हात पारेको छ।
अमेरिकाको डालास रङ्गशालामा सोमवार मध्यराति सम्पन्न समूह ‘जे’ को खेलमा अर्जेन्टिनाले अस्ट्रियालाई २–० गोल अन्तरले पराजित गरेको हो। झन्डै ७० हजारभन्दा बढी दर्शकमाझ भएको उक्त रोमान्चक खेलमा मेस्सीले दुई गोल गर्दै नयाँ इतिहास रचेका छन्।
खेलको ३८औँ मिनेटमा फकुन्डो मेडिनाको पासलाई सदुपयोग गर्दै मेस्सीले अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए। यस गोलसँगै उनले विश्वकपमा आफ्नो १७औँ गोल पूरा गर्दै जर्मनीका पूर्वस्ट्राइकर मिरोस्लाभ क्लोसको १६ गोलको कीर्तिमानलाई उछिनेका हुन्।
पहिलो हाफमा १–० को अग्रता बनाएको अर्जेन्टिनाले दोस्रो हाफमा पनि खेललाई आफ्नो नियन्त्रणमा राख्यो।
खेलको अन्तिम समयमा अस्ट्रियाले बराबरी गर्ने केही प्रयास गरे पनि त्यो सफल हुन सकेन। निर्धारित ९० मिनेटपछिको थप गरिएको (इन्जुरी) समयमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे। जुलियन अल्भारेजको प्रहार विफल भएपछि प्राप्त अवसरलाई मेस्सीले गोलमा परिणत गरेका थिए। यो गोलसँगै विश्वकपमा उनको कुल गोल सङ्ख्या १८ पुगेको छ।
अस्ट्रियाका लागि मार्सेल साभिट्जर र केभिन डान्सोले गोल गर्ने केही राम्रा अवसरहरू सिर्जना गरेका थिए। तर, अर्जेन्टिनी गोलकिपर एमिलियानो मार्टिनेजले उत्कृष्ट बचाउ गर्दै विपक्षीलाई गोलरहित राखे। खेलको उत्तरार्धमा अस्ट्रियाले दबाब बढाउन खोजे पनि अर्जेन्टिनाको रक्षापङ्क्ति र मिडफिल्डर एलेक्सिस म्याक एलिस्टरको प्रदर्शन मजबुत देखिएको थियो।
यस जितसँगै समूह ‘जे’ मा अर्जेन्टिना बलियो स्थितिमा पुगेको छ। दुवै टोलीले आ–आफ्नो पहिलो खेल जितिसकेका कारण यो खेललाई समूह विजेताको होडका लागि निकै महत्त्वपूर्ण मानिएको थियो।

















