हल्दिबारी (झापा) — हल्दिबारी गाउँपालिकामा गाउँपालिका स्तरीय बाल भेला भव्यताका साथ सम्पन्न भएको छ । बालबालिकाको भेलाले स्थानीय तहमा आफ्ना माग र आवश्यकता पहिचान गर्दै आगामी योजना तय गरेको छ ।
हल्दिबारी बाल संजालका अध्यक्ष प्रितम कार्कीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देन प्रमुख अतिथि रहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लिङ्देनले बालबालिकाको अधिकार, विकास र सहभागिताका लागि गाउँपालिका सधैं प्रतिबद्ध रहेको र उनीहरूका रचनात्मक मागलाई स्थानीय सरकारको नीति तथा कार्यक्रममा समेट्ने आश्वासन दिए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लक्ष्मी देवी मैनाली र प्रमुख प्रशासकीय अधिकृत मान बहादुर वन (महेन्द्र) विशिष्ट अतिथिका रूपमा सहभागी थिए । त्यसैगरी, अतिथिहरूमा योजना शाखा प्रमुख राजन न्यौपाने, महिला तथा बालबालिका शाखा प्रमुख तृष्णा थापा मगर र बाल संजालका संस्थापक एवं पूर्व अध्यक्ष पवन गिरीको उपस्थिति रहेको थियो ।
भेलाका क्रममा गाउँपालिकाभरिबाट आएका बालबालिकाहरूले आफ्ना हकहित, विद्यालयीय वातावरण, खेलकुद तथा क्षमता विकासका लागि आवश्यक योजना र मागहरू प्रस्तुत गरेका थिए । बालबालिकाद्वारा उठाइएका ती माग र आवश्यकताहरूलाई संकलन गरी योजनाका रूपमा छनौट समेत गरिएको छ ।
कार्यक्रममा सहभागी बालबालिकाहरूका लागि योजना छनौट तथा बालअधिकारका विविध पक्षमा योजना शाखा प्रमुख राजन न्यौपानेले प्रशिक्षण तथा सहजीकरण गरेका थिए । संजालकी सचिव पुष्पा दंगालले संचालन गरेको उक्त भेला उत्साहजनक र उपलब्धिमूलक रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ ।
















