हल्दिबारी , ९ मंसिर । नेकपा एमालेले १०औँ महाधिवेशनको तयारी सम्पूर्ण रुपमा सकिएको बताएको छ । नारायणी नदी किनारमा पत्रकार सम्मेलन गरी एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले महाधिवेशनको तयारीबारे सकिएको जानकारी दिए । महाधिवेशनका लागि एमाले अध्यक्ष केपी ओलीसहित शीर्ष नेताहरू चितवन पुगिसकेका छन् ।

उद्घाटन सत्रमा पार्टी कार्यकर्ता, शुभेच्छुक र आम जनसमुदाय समेत गरी पाँच लाख जना सहभागी हुने एमालेले बताएको छ । सहभागीहरूलाई नारायणी नदी किनारको नारायणगढ र गैंडाकोट दुवैतर्फ राखिने बताए । बन्द सत्रमा भूगोल, जनसंगठन, विभाग, सम्पर्क कमिटी र प्रवास कमिटीका गरी दुई हजार १७५ प्रतिनिधि र १०३ जना पर्यवेक्षक सहभागी हुनेछन् । प्रतिनिधिहरूमध्ये ६२७ जना महिला प्रतिनिधि हुनेछन् । दलित उत्पिडित क्षेत्रबाट २०९ जना प्रतिनिधि आउने छन् ।

कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि आउनुहुने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने कार्यक्रममा सहभागी नहुने भएका छन् ।
एमालेको निमन्त्रणा स्वीकार गरी ८ वटा विदेशी पार्टीका १५ जना पाहुनाहरु उपस्थित निश्चित भएको छ । एमाले विदेश मामिला विभागले काठमाडौंमा पत्रकार सम्मेलन गरी भारत, बंगलादेश, श्रीलंका र कम्बोडियाबाट ८ वटा पार्टीका १५ जना पाहुनाहरु महाधिवेशनमा उपस्थित हुने निश्चित भएको बताएको हो । यसका साथसाथै २५ वटा देशबाट महाधिवेशनका लागि शुभकामना सन्देश प्राप्त भएको एमाले विदेश मामिला विभागका प्रमुख तथा महाधिवेशन अतिथी सत्कार समितिका संयोजक डा राजन भट्टराईले जानकारी दिए ।