-देशबन्धु क्षेत्री / भद्रपुर, झापा

फागुन २१ पछि
उठ्नेछ-
अर्को ज्वारभाटा,
साँच्चै उठ्नेछ—
तर यो पटक
रगतको भेल होइन,
चेतनाको
बाढी हुनेछ।
पहिलो पंक्तिमा उभिनेहरू
ढल्ने छैनन ,
डग्मगिएको देशलाई सम्हाल्न उभिनेछन्।
हातमा ढाल होइन,
विचारको
मशाल हुनेछ।
छातीमा क्रोध होइन,
न्यायको अडान हुनेछ।
तिमी भन्छौ—
धर्तीले फेरि
रगत माग्छ।
म भन्छु—
धर्तीले अब रगत होइन,
पसिना माग्छ,
परिश्रम माग्छ,
साहसिक
तर संयमित
कदम माग्छ।
कति पटक इतिहासले
युवाको जोशलाई
बलिदानको कथामा मात्र सीमित गर्यो?
कति पटक
आन्दोलनको नाममा
भविष्यलाई धुवाँमा उडाइयो?
हामी ७६ जना होइन,
७६ हजार पनि होइन,
७६ लाख चेतनाहरू हौं—
जसले अब बुझिसकेका छन्,
आफ्नो स्वाभिमान
कसैको छातीमा गोली दागेर होइन,
आफ्नै सीप,
आफ्नै विचार,
आफ्नै मत र आवाजले
फिर्ता ल्याइनेछ।
यदि ज्वारभाटा उठ्छ भने,
त्यो भ्रष्टाचार विरुद्ध उठोस्।
यदि आँधी चल्छ भने,
त्यसले अन्यायक़ो किल्ला ढालोस्।
तर त्यो आँधीले
मानवताको घर नउडाओस्,
त्यो ज्वारभाटाले
निर्दोष सपनाहरू नबगाओस्।
फागुन २१ पछि
हामीले अधूरो आन्दोलन
पूरा गर्नु छ—
तर अधूरो आन्दोलन के हो?
के त्यो केवल सडकमा
नारा थियो?
के त्यो केवल ढुंगा र टायर थियो?
वा त्यो
हाम्रो पुस्ताको
स्वाभिमान खोज्ने हुँकार थियो?
अधूरो आन्दोलन पूरा गर्नु छ भने,
सड़कमा
सवाल उठाऊ,
गाउँ बस्तीमा
बहस गर,
मतदानमा भाग लेऊ,
गलतलाई
खुला रूपमा अस्वीकार गर।
सामाजिक सञ्जालमा मात्र होइन,
संसद् र सडकबीचको दूरी
आफ्नो
सक्रियताले घटाऊ।
हामी जेन जी हौं—
हामी डिजिटल छौं,
तर हामी
निष्क्रिय छैनौं।
हामी क्रुद्ध छौं,
तर
हामी अन्धा छैनौं।
हामी विद्रोही छौं,
तर विनाशकारी होइनौं।
७६ हजारले रगत बगाउनुपर्छ भन्ने
पुरानो सोचलाई
अब ७६ हजारले
ज्ञान बगाउनुपर्छ सोचले बदल्नु छ।
हाम्रो भाग
ढल्नुमा होइन,
ढलेको संरचना उठाउनुमा छ।
त्यो ७६ हजारमा
मेरो भाग पनि छ—
तर मेरो भाग
आगो बन्नु होइन,
आगो निभाउने पानी बन्नु छ ।
मेरो भाग
घृणा चर्काउनु होइन,
सत्य स्वीकार्नु छ ।
म तयार छु
तर हातमा ढुंगा लिएर होइन,
हृदयमा
दृढ संकल्प लिएर।
म तयार छु—
न्यायका लागि उभिन,
तर हिंसाको बाटो समात्न होइन ।
म तयार छु—
देशको स्वाभिमान फिर्ता ल्याउन,
तर देशको भविष्य जलाउन होइन ।
फागुन २१ पछि
फेरि सडक भरिन्छ भने,
त्यो भीडले होइन,
योजनाले भरियोस्।
यदि नारा गुञ्जिन्छ भने,
त्यो नारा
“नष्ट गर” होइन,
“सुधार गर” होस्।
हामी अधूरो क्रान्ति पूरा गर्न
निस्केका हौं—
तर हाम्रो क्रान्ति
मानवता विरुद्ध होइन,
अमानवियता विरुद्धक़ो हो।
हाम्रो विद्रोह
व्यक्ति विरुद्ध होइन,
गलत प्रणालीका
विरुद्ध हो।
फागुन २१ पछि
उठ्नेछ
अर्को ज्वारभाटा—
तर त्यो ज्वारभाटा
रगतको होइन,
नयाँ चेतनाको हुनेछ।
र यदि इतिहासले सोध्यो—
“तिमीले के गर्यौ?”
हामी गर्वले भन्नेछौ
“हामीले देश जलाएनौं,
हामीले देश जगायौं।”
त्यसैले आउ ,
आफ्नो भाग
पूरा गरौं—
ढलेर होइन,
उठेर
भत्काएर होइन,
बनाएर
घृणाले होइन,
हिम्मत र विवेकले।
फागुन २१ पछि
ज्वारभाटा अवश्य उठ्नेछ—
तर त्यो ज्वारभाटा
हाम्रो पुस्ताको
सजग, संयमित र सशक्त
नयाँ सुरुवात हुनेछ।

















