काठमाडौं । पार्टीको १४औँ महाधिवेशनको मिति नजिकिँदै जाँदा कांग्रेस नेताहरु शक्ति आर्जनमा जुटिरहेका छन् । विशेषगरी सभापतिका सम्भावित आकांक्षीहरु छलफल र भेटघाटमा व्यस्त रहेका छन् ।
आउँदो भदौ १६देखि १९ गतेसम्म कांग्रेसको १४औँ महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ । भदौभित्र महाधिवेशन गरिसक्नुपर्ने संवैधानिक बाध्यतामा रहेको कांग्रेसका नेताहरु आन्तरिक छलफलमा जुटिरहेका छन् ।
पछिल्लो समय प्रकाशमान सिंह, शशांक कोइराला र विमलेन्द्र निधिबीच लगातार छलफल एको थियो भने सुजाता कोइराला, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाबीच पनि कोइराला निवास मण्डिखाटारमा छलफल भएको थियो ।
महाधिवेशनमा आ–आफूलाई सघाउन एकअर्कालाई आग्रह गरेका नेताहरु आफ्नो समूहको बैठक पनि गरिरहेका छन् । यसैक्रममा मंगलबार कृष्णप्रसाद सिटौलाले आफ्नो समूहको बैठक राखेका छन् ।
काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फूडल्यान्डमा उनले केन्द्रीय समिति, जिल्ला कार्यसमितिका तथा भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिसहितलाई सहभागी गराएर आफूलाई महाधिवेशनमा सहयोग गर्न आग्रह गर्न लागेका हुन् ।
१३औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी दिएका सिटौलाले १४औँ महाधिवेशनको तयारीलगायतका विषयमा छलफल गर्न आफ्नो समूहको बैठक बोलाएका हुन् ।
















