नरेन्द्र क्षेत्री/ कोलकाता । पश्चिम बंगालकी पूर्व मुख्यमन्त्री ममता बनर्जीले बिहीबार कोलकाता उच्च अदालत परिसरमा चर्को विरोधको सामना गर्नुपरेको छ। चुनाव पछिको हिंसासँग सम्बन्धित एक मुद्दामा आफ्नो दलील पेस गर्न अदालत पुग्नुभएकी बनर्जी बाहिर निस्कने क्रममा केही वकिलहरूले उहाँविरुद्ध नाराबाजी गरेका हुन्। मुख्य न्यायाधीश सुजय पालको इजलासमा सो जनहित याचिकामाथि सुनुवाइ भएको थियो, जहाँ बनर्जी स्वयं वकिलका रूपमा उपस्थित हुनुभएको थियो।
सुनुवाइ सकिएर अदालत कक्षबाट बाहिर निस्कँदै गर्दा त्यहाँ उपस्थित वकिलहरूको एउटा समूहले उहाँलाई घेरेर ‘चोर’ भन्दै नारा लगाएका थिए। सो क्रममा केही वकिलहरूले आपत्तिजनक टिप्पणी समेत गरेको बताइएको छ। स्थिति तनावपूर्ण बनेपछि प्रतिक्रिया दिँदै बनर्जीले आफूमाथि हातपात भएको संकेत गर्नुभएको छ। उहाँले ‘उनीहरूले मलाई पिटे’ भन्दै विरोध गर्नेहरूतर्फ इशारा गर्नुभएको थियो।
ममता बनर्जी अदालत आउने खबरले पहिले नै परिसरमा वकिलहरूको ठूलो भिड जम्मा भएको थियो। चुनाव पछिको हिंसालाई लिएर राज्यको राजनीति र न्यायिक वातावरण तातिएको बेला भएको यो घटनालाई अर्थपूर्ण रूपमा हेरिएको छ। अदालतको लबीमा भएको यो अवरोध र नाराबाजीले सुरक्षा व्यवस्था र कानुनी क्षेत्रमा नयाँ तरंग पैदा गरेको छ।

















