झापा ।’धुरन्धर’ जस्तो ऐतिहासिक ब्लकबस्टर फिल्मको सफलतापछि जियो स्टुडियोज र आटपाट प्रोडक्सन्सले आफ्नो नयाँ र प्रतिक्षित मराठी स्पोर्ट्स बायोपिक ‘खाशाबा’ (Khashaba) को दमदार टिजर सार्वजनिक गरेका छन्। नेपाली बजारमा समेत बलियो उपस्थिति बनाउँदै गएको जियो स्टुडियोजको यो महत्वाकांक्षी चलचित्र आगामी १ जनवरी २०२७ का दिन विश्वभरका सिनेमाघरहरूमा एकसाथ प्रदर्शनमा आउने तय भएको छ।

यो फिल्म स्वतन्त्र भारतका पहिलो व्यक्तिगत ओलम्पिक पदक विजेता तथा महान पहलवान खाशाबा दादासाहेब जाधवको जीवन र संघर्षको कथामा आधारित छ। नवस्वतन्त्र भारतको पृष्ठभूमिमा तयार पारिएको यस फिल्मले महाराष्ट्रका एक गुमनाम खेल नायकको संघर्षपूर्ण यात्रा र उनले सन् १९५२ को हेलसिन्की ओलम्पिकमा ऐतिहासिक कास्य पदक जितेर इतिहास रचेको गौरवमय क्षणलाई ठूलो पर्दामा उतार्ने प्रयास गरेको छ। सार्वजनिक टिजरमा परम्परागत कुश्तीको अखडा र त्यसको जीवन्त परिवेशलाई सिनेमाई क्यानभासमा निकै सुन्दर ढंगले प्रस्तुत गरिएको छ।
यस फिल्मको निर्देशन राष्ट्रिय पुरस्कार विजेता निर्देशक नागराज मञ्जुलेले गरेका हुन्। यसअघि ‘फ्यान्ड्री’ र २०१६ को ऐतिहासिक हिट फिल्म ‘सैराट’ मार्फत विश्वभर चर्चा कमाएका मञ्जुलेको यो अर्को ठूलो प्रोजेक्ट हो। फिल्ममा संगीतको जिम्मेवारी प्रसिद्ध संगीतकार जोडी अजय-अतुलले सम्हालेका छन्।
फिल्ममा मुख्य पात्र खाशाबा दादासाहेब जाधवको भूमिका कुन कलाकारले निभाएका हुन् भन्ने कुरालाई निर्माण पक्षले अझै गोप्य राखेको छ। यस भूमिकाका लागि निर्माण टोलीले कुनै स्थापित अनुहारको सट्टा एक नयाँ र प्रतिभावान कलाकारलाई सिनेमा जगतमा सार्वजनिक गर्ने निर्णय गरेको बुझिएको छ।







