झापा, २७ वैशाख। झापाको बाह्रदशी गाउँपालिका–२ बुट्टाबारीमा जङ्गली च्याउ खाँदा ११ जना बिरामी परेका छन् । आइतबार बिहान करिब १० बजे स्थानीय तेज बहादुर खवासको घरमा जङ्गलबाट ल्याएको च्याउ पकाई खाँदा उनीहरू बिरामी भएका हुन् ।
बिरामी पर्नेहरूमा ५० वर्षीया कमला माया खवास, ३१ वर्षीय डिल्ली खवास र २० वर्षीया अनिता खवाससहित ८ जना बालबालिका रहेका छन् । च्याउ खाएलगत्तै स्वास्थ्यमा समस्या देखिएपछि उनीहरूलाई तत्काल उपचारका लागि भद्रपुरस्थित प्रादेशिक अस्पताल पुर्याइएको थियो ।
प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचार गरिए पनि थप उपचार र विशेष निगरानीका लागि ९ जना बालबालिकालाई दमकस्थित बाल अस्पताल रिफर गरिएको छ । बिरामीमध्ये २ जनाको अवस्था मध्यम र अन्य ९ जनाको अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ । वर्षायाम सुरु भएसँगै उम्रिने जथाभावी च्याउ नखान स्थानीय प्रशासन र स्वास्थ्यकर्मीले सचेत गराएका छन् ।

















