झापा, १४ जेठ। झापा जिल्लाका तीन छुट्टाछुट्टै स्थानबाट अवैध लागुऔषध ब्राउन सुगर (खैरो हिरोइन) सहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ताका अनुसार सीमावर्ती क्षेत्र र भित्री सहरहरूमा लागुऔषधको अवैध ओसारपसार र कारोबार भइरहेको विशेष सूचनाका आधारमा चालिएका अपरेसनका क्रममा दुई भारतीय नागरिक र दुई महिलासहित पाँच जना पक्राउ परेका हुन्।
पहिलो घटनामा, झापाको गौरीगञ्ज गाउँपालिका वडा नम्बर २ स्थित आँपगाँछी बोर्डर इलाकाबाट प्रहरीले अवैध लागुऔषध ब्राउन सुगरसहित दुई जना भारतीय महिलालाई नियन्त्रणमा लिएको छ। भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूले लागुऔषध ओसारपसार गरिरहेको गोप्य सूचनाका आधारमा प्रहरी चौकी कोरोबारी र सशस्त्र प्रहरी बल (BOP) आँपगाँछीको संयुक्त गस्ती टोलीले चेकजाँच गरेको थियो। पक्राउ पर्नेमा भारतको किशनगञ्ज जिल्ला सिङ्गीमारी पञ्चायत ४ बस्ने अन्दाजी ३६ वर्षीया रुकमणी देवी र उनकी १६ वर्षीया छोरी रहेका छन्। उनीहरूको साथबाट प्लाष्टिकसहित २३ ग्राम २९० मिलिग्राम र प्लाष्टिक बाहेक २० ग्राम ३०० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने लेसिलो पदार्थ फेला परेपछि दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय गौरीगञ्जमा राखी थप अनुसन्धान भइरहेको छ। सांकेतिक तस्बिर एआईबाट निर्मित

दोस्रो घटनामा, बिर्तामोड नगरपालिका वडा नम्बर ४ कञ्चनजङ्घा टोलमा डेरा गरी बस्ने एक दम्पती लागुऔषध कारोबार गरिरहेको अवस्थामा पक्राउ परेका छन्। स्थानीय शर्मिला गुरुङको घरमा डेरा लिएर बस्ने उनीहरूले कोठाभित्रै अवैध कारोबार गरिरहेको विशेष सूचना पाएपछि लागुऔषध ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट सादा पोसाकमा खटिएको संयुक्त प्रहरी टोलीले छापा मारेको थियो। पक्राउ पर्नेहरूमा झापा गाउँपालिका वडा नम्बर ५ का ३५ वर्षीय मिलन कुमार राजवंशी र उनकी श्रीमती कन्काई नगरपालिका वडा नम्बर ७ की २६ वर्षीया सरु कार्की रहेका छन्। कोठामा खानतलासी गरी डिजिटल तराजुमा तौल गर्दा प्लाष्टिक बाहेक ३ ग्राम ७०० मिलिग्राम ब्राउन सुगर फेला परेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान अघि बढाएको छ।
तेस्रो घटनामा, मेचीनगर नगरपालिका वडा नम्बर ६ स्थित पुरानो मेचीपुलमा साइकलमा लागुऔषध लुकाएर ल्याउँदै गरेका एक व्यक्ति पक्राउ परेका छन्। भारतको पानीटङ्कीबाट नेपालतर्फ साइकलमा आउँदै गरेका मेचीनगर नगरपालिका वडा नम्बर ३ बस्ने ३२ वर्षीय दुखु मियाँलाई शङ्का लागेर इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध ब्युरो कार्यालय काँकरभिट्टाको संयुक्त टोलीले चेकजाँच गरेको थियो। जाँचका क्रममा उनले चढ्ने साइकलको सिटमुनि लुकाएर राखिएको अवस्थामा प्लाष्टिकसहित २ ग्राम ५२० मिलिग्राम र प्लाष्टिक बाहेक २ ग्राम १७० मिलिग्राम खैरो हिरोइन जस्तो देखिने लेसिलो पदार्थ फेला परेको हो। प्रहरीले उक्त लागुऔषध र साइकलसहित मियाँलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान गरिरहेको छ।
















