बिर्तामोड (झापा) ।झापाको कनकाई नगरपालिकामा आएको विनाशकारी हावाहुरीले करोडौँ मूल्य बराबरको व्यावसायिक केरा खेती नष्ट गरेको छ । गत जेठ ११ गते राति आएको हावाहुरीले कनकाई नगरपालिका–७ स्थित बत्तिस बिघामा व्यापक क्षति पुर्याएको हो ।
स्थानीय कृषकहरूले सामूहिक रूपमा करिब ६० बिघा क्षेत्रफलमा लगाएको केरा खेती हावाहुरीले पूर्ण रूपमा ढालेको छ । हावाहुरीका कारण करिब ३ करोड ६० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । उत्पादन दिने बेलाका केराका बोटहरू सोत्तर बनेपछि लागनी डुबेको भन्दै रैथाने किसानहरू यतिबेला चिन्तित छन् ।
इलाका प्रहरी कार्यालय घैलाडुब्बाका अनुसार उक्त विनाशकारी हावाहुरी र क्षतिको विवरणसहित स्थानीयबासीले प्रहरीलाई जानकारी गराएका थिए ।
घटनाको जानकारी पाएलगत्तै स्थानीय प्रहरी प्रशासन र जनप्रतिनिधिहरूको टोलीले घटनास्थलको निरीक्षण गरेको छ । उत्पादन बजारमा लैजाने तयारी भइरहेका बेला आएको प्राकृतिक विपत्तिले कृषकहरूलाई ठुलो आर्थिक संकटमा पारेको भन्दै पीडितहरूले स्थानीय सरकार तथा कृषि ज्ञान केन्द्रसँग राहत र उचित क्षतिपूर्तिको माग गरेका छन् ।

















