बिर्तामोड (झापा) ।झापाको बिर्तामोडस्थित तक्षशिला प्रोग्रेसिभ इङ्लिस स्कुलले भविष्यकेन्द्रित शिक्षा र नवप्रवर्तनका क्षेत्रमा एक महत्वपूर्ण फड्को मारेको छ। विद्यालयले एरोस्पेस, उन्नत STEAM प्रविधि तथा कम्पोजिट स्किल्स ल्याबका क्षेत्रमा विश्वभर अग्रणी मानिएको संस्था एभियोट्रोन एरोबेसँग ऐतिहासिक समझदारीपत्रमा हस्ताक्षर गरेसँगै विद्यालय तहको शिक्षामा नयाँ अध्याय सुरु भएको हो।

तक्षशिलाको आफ्नै परिसरमा आयोजित विशेष समारोहमा विद्यालयका कार्यकारी निर्देशक डा. अञ्जली कार्की, शैक्षिक निर्देशक डा. भिक्टर आई. जोसेफ र भारतस्थित एभियोट्रोन एरोबेका बिजनेस पार्टनर सुभाषिस चटर्जीले २०८३ साल वैशाख २४ गते उक्त समझदारीपत्रमा औपचारिक हस्ताक्षर गर्नुभयो। यस सहकार्यले विशेषगरी विश्वस्तरीय स्पेस टेक्नोलोजी एण्ड रिसर्च, उद्यमशीलता, कृत्रिम बौद्धिकता (AI), डाटा साइन्स, रोबोटिक्स, अटोमेसन, र एभिएसनजस्ता आधुनिक विषयहरूलाई तक्षशिलाको पाठ्यक्रममा एकीकृत गर्ने लक्ष्य राखेको छ। नेपालकै विद्यालय तहमा यस्तो खालको प्राविधिक पहल गरिएको यो सम्भवतः पहिलो घटना हो।

यस ऐतिहसिक साझेदारीमार्फत विद्यार्थीहरूले अत्याधुनिक पूर्वाधार र व्यवहारिक सिकाइका अवसरहरू प्राप्त गर्नेछन्, जसले उनीहरूलाई २१औं शताब्दीका विश्वव्यापी करियर अवसरहरूको खोज र तयारीमा प्रत्यक्ष सहयोग पुर्याउनेछ। यो सहकार्य पूर्ण रूपमा अनुभवमा आधारित र सीपमुखी शिक्षामा केन्द्रित रहने बताइएको छ। अत्याधुनिक ल्याब उपकरण र उद्योगमुखी तालिममार्फत विद्यार्थीहरूले अब कक्षाकोठाभित्रै विश्वव्यापी मागअनुसारका उदाउँदो प्रविधिहरूसँग साक्षात्कार गर्न पाउनेछन्।

हस्ताक्षर कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक डा. अञ्जली कार्कीले यस सहकार्यले तक्षशिलाको २१औं शताब्दी सुहाउँदो सीप र प्राविधिक दक्षतामार्फत विद्यार्थीलाई परम्परागत शिक्षाभन्दा बाहिर सक्षम बनाउने दृष्टिकोणलाई प्रतिविम्बित गरेको उल्लेख गर्नुभयो। त्यस्तै, यो पहलले एरोस्पेस र उन्नत इन्जिनियरिङजस्ता क्षेत्रमा विद्यार्थीका लागि नयाँ ढोका खोल्ने र शिक्षा तथा वास्तविक जीवनको प्रयोगबीचको दूरीलाई कम गर्ने अपेक्षा गरिएको छ। यो समझदारीलाई तक्षशिला प्रोग्रेसिभ इङ्लिस स्कुलले आफ्नो प्रोग्रेसिभ शिक्षा र विश्वस्तरीय उत्कृष्टताको यात्रामा एउटा गौरवपूर्ण उपलब्धिको रूपमा लिएको छ।

















