प्रत्येक वर्ष १४ फेब्रुअरी आउँदा संसारभरि प्रेमका रंगहरू फैलिन्छन्। फूलका गुच्छा, स-साना उपहार र हृदयबाट निस्केका शब्दहरूले भ्यालेन्टाइन डे मनाइन्छ। यो दिन प्रायः रोमान्स र आकर्षणसँग जोडिएर बुझिन्छ, तर पवित्र प्रेम गुलाब, मैनबत्तीको उज्यालो र क्षणिक उत्साहभन्दा धेरै गहिरो हुन्छ। साँचो प्रेम आकस्मिक रूपमा देखा पर्ने र चाँडै हराउने भावना होइन; यो समयसँगै परिपक्व हुँदै जाने, दुई आत्मालाई स्पर्श गर्ने एक यात्रा हो। प्रेम का चार महत्वपूर्ण चरणहरू मध्ये आकर्षण, स्नेह, स्वीकृति र संलग्नता, पार गर्दै जीवनसँग गाँसिन्छ।
आकर्षण प्रेमको पहिलो उज्यालो किरण हो। यही क्षणबाट दुई ( विपरीत लिङी अर्थात सम लिङी ) आत्माहरू एकअर्कातिर आकर्षित हुन्छन कहिले रूपको मोहकता , कहिले बोलीको कोकीलता , कहिले गहन विचारको गहिराइले, त कहिले साझा रुचि र अनुभूति तथा सहकार्यको समीपता अनि सरलता द्वारा आकर्षण जन्मिन्छ। यस चरणमा हृदय उत्साहले भरिन्छ, सोचहरू बारम्बार त्यही व्यक्तितिर आकर्षित भै मनमा अनायासै एउटा मीठो कौतुहलता जागृत हुन्छ। जैविक रूपमा पनि यो अवस्था अति आनन्दमय र प्रत्याशाले भरिएको हुन्छ। तर आकर्षण आफैंमा प्रेम होइन, यो प्रेमको मुल द्वार होइन भनेर नकार्न भने सकिंदैन। भ्यालेन्टाइन डेमा देखिने प्रशंसा, गुलाब र रोमान्टिक इशाराहरू यही सुरुवातका सुन्दर संकेत हुन्, तर प्रेम शुद्ध र दिगो बन्न यसभन्दा अगाडि बढ्नैपर्छ।
आकर्षण जब स्नेहमा रूपान्तरण हुन्छ, प्रेमले न्यानोपन पाउँछ। साझा समय, संवाद र अनुभूतिको आदान, प्रदानले सम्बन्धलाई गहिरो बनाउँछ। स्नेह उत्साहभन्दा स्थिर हुन्छ, तर भावनात्मक रूपमा धेरै समृद्ध। यहाँ हेरचाह, सहानुभूति र एकअर्काको मन बुझ्ने चाहना विशिष्ट हुन्छ। साधारण शब्द, सानो ध्यान, मौन उपस्थितिसमेत प्रेमको भाषा बन्छ। भ्यालेन्टाइन डे यस चरणमा उपहारको मूल्यभन्दा बढी उपस्थितिको महत्व सम्झाउने दिन बन्छ, जहाँ प्रेम देखाउने भन्दा अनुभूति गराउने कुरा ठूलो हुन्छ। स्नेहले सम्बन्धको भावनात्मक जग मजबुत बनाउँछ।
स्वीकृतिको चरणमा प्रेमले वास्तविकता स्वीकार्न थाल्छ।समयसँगै सबै अपूर्णता, कमजोरी र भिन्नताहरू सतहमा आउँछन्। यहींबाट प्रेमको साँचो परीक्षा सुरु हुन्छ। स्वीकृति भनेको निर्दोषता र सरलता खोज्नु मात्र होइन, अपूर्णतालाई सहर्ष स्विकार्नु पनि हो। एकअर्काको कमजोरीसँगै जस्ताको तेस्तै प्रेम गर्न सक्नु नै परिपक्व प्रेम हो। यस चरणमा धैर्य, क्षमा र सम्मान आवश्यक हुन्छ। प्रेम कल्पनाबाट बाहिर निस्केर जीवनको यथार्थमा प्रवेश गर्छ। भ्यालेन्टाइन डेमा गरिने प्रेमका वाचा यही स्वीकृतिमा टिकेर जीवनभर निभाइन्छन र निभाइनु पनि पर्छ l
संलग्नता पवित्र प्रेमको सबैभन्दा स्थिर र गहिरो तथा गहन अवस्था हो। यहाँ प्रेम उत्साहभन्दा शान्त हुन्छ, तर भरोसाले भरिएको। साझा स्मृति, विश्वास र निरन्तर साथले सम्बन्धलाई सुरक्षित बनाउँछ। प्रेम अब केवल भावना होइन, साझेदारी बन्छ। दुई व्यक्ति स्वतन्त्र रहँदै पनि एकअर्काको आधार बन्दछन। यो पर निर्भरता नभै विश्वास तथा समर्पण हो; नियन्त्रण होइन, समझदारी हो। यहीं प्रेम ले प्रतिकुल समयसँग संघर्ष गर्न सक्ने शक्ति प्राप्त गर्न सक्छ
मेरो विचार मा पश्चिमी सभ्यता को आधार मा भ्यालेन्टाइन डेको वास्तविक अर्थ यही हो भन्ने लाग्दछ । यो दिन केवल रोमान्स मै हराउने मात्र नभै प्रेमको गहिराइ सम्झिने र एक अर्का प्रतिको आकर्षण लाई वास्तविक जिवन उपयोगी बनाउने एउटा उत्कृष्ट अवसर हो। आकर्षणले भेट गराउँछ, स्नेहले नजिक ल्याउँछ, स्वीकृतिले बलियो बनाउँछ र संलग्नताले दिगो बनाउँछ। शुद्ध प्रेम एक दिनमा निर्माण हुँदैन; यो धैर्य, सम्मान, विश्वास र निरन्तर रोजाइको परिणाम हो।
अन्ततः, पवित्र प्रेम पूर्णताको खोज होइन। यो अपूर्ण सम्बन्धलाई स्वीकार गर्दै, हरेक दिन एकअर्कालाई पुनः रोज्ने साहस हो। जब प्रेम यी चारै चरणबाट गुज्रिन्छ, तब त्यो जीवनकै सबैभन्दा सुन्दर, शक्तिशाली र अर्थपूर्ण अनुभूति बन्छ। भ्यालेन्टाइन डेले हामीलाई दिनुपर्ने सन्देश पनि यही हो—प्रेमलाई केवल मनाउने होइन, जीवनभर जोगाइराख्नेर समर्पण भाव का साथ चरित्रमा उतारो
प्रणय दिवशको संपूर्ण मा हार्दिक शुभ कामना

इन्द्र प्रसाद ओली
अध्यक्ष/ प्रमुख प्रशिक्षक
चेतना नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार