बिर्तामोड, झापा । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ४ स्थित कञ्चनजङ्घा स्कुल नजिकैको भित्री सडक खण्डमा बिहीबार राति भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।
२०८२ फागुन १५ गते राति करिब ९:२० बजेको समयमा बिर्तामोडबाट सैनिक बजार तर्फ जाँदै गरेको बागमती प्रदेश-०१-०२५ च ६०५० नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको प्र१-०१-०१६ प ३९५९ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए। दुर्घटनामा परी मोटरसाइकल चालक झापाको मेचीनगर नगरपालिका वडा नम्बर १३ चारआली निवासी २५ वर्षीय विशाल पौडेल गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल लगिएकोमा चिकित्सकले चेकजाँचका क्रममा मृत घोषणा गरेका हुन्।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार झापाकै कनकाई नगरपालिका वडा नम्बर ६ का २५ वर्षीय चन्द्र किशोर चापागाईँ समेत गम्भीर घाइते भएका छन्। उनको हाल सोही अस्पतालमा उपचार भइरहेको र अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। प्रहरीले दुर्घटनामा संलग्न कार र त्यसका चालक बिर्तामोड-६ का २५ वर्षीय चिराग सिन्हालाई नियन्त्रणमा लिएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।


















