हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ४ महिना अगाडि

भद्रपुरमा जारी महिला क्रिकेटमा सिक्किमको सहज जित, सिलिगुडी ८ विकेटले पराजित

भद्रपुर, झापा । झापाको भद्रपुर–८ स्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट मैदानमा जारी नेपाल–भारत मैत्रीपूर्ण महिला टी–२० प्रतियोगिता अन्तर्गत आज बिहीबार सम्पन्न खेलमा भारतको अल्पाइन स्पोर्टिङ क्लब सिक्किम विजयी भएको छ। नेपाल–भारत मैत्री संघ कोशी प्रदेशद्वारा पहिलोपटक आयोजित यस ऐतिहासिक प्रतियोगिताको दोस्रो दिनको खेलमा सिक्किमले भारतकै दून हेरिटेज सिलिगुडीलाई ८ विकेटको भारी अन्तरले पराजित गर्दै सहज जित हात पारेको हो।

Advertisement

टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको सिलिगुडीले निर्धारित २० ओभरको खेलमा निकै फितलो प्रदर्शन गर्दै ४७ रनमा सबै विकेट गुमाएको थियो। सिलिगुडीका तर्फबाट ह्याप्पी सरकारले बनाएको १५ रन नै सर्वाधिक स्कोर रह्यो भने अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको रन छुन सकेनन्। सिलिगुडीलाई सस्तैमा समेट्न सिक्किमकी मारियन सुब्बाले घातक बलिङ गर्दै ४ ओभरमा मात्र ८ रन खर्चेर महत्वपूर्ण २ विकेट लिइन्। ४८ रनको झिनो लक्ष्य पछ्याएको सिक्किमले १३.३ ओभरमा २ विकेट गुमाउँदै विजय लक्ष्य प्राप्त गरेको प्रतियोगिताका व्यवस्थापक राजन भट्टराईले जानकारी दिनुभयो।

Advertisement

सिक्किमको जितमा ब्याटिङतर्फ नन्दिता कुमारीले ३१ बलमा २१ रन र प्रमिला क्षेत्रीले ३३ बलमा १४ रनको योगदान दिएका थिए। उत्कृष्ट बलिङ प्रदर्शन गरेकी सिक्किमकी मारियन सुब्बा खेलको ‘म्यान अफ द म्याच’ घोषित भइन्। नेपाल र भारतबीचको महिला क्रिकेटलाई थप परिचित गराउने र दुई देशबीचको खेलकुद सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको नेपाल–भारत मैत्री संघ झापाका खेलकुद संयोजक गौरव सुब्बा ‘मनोज’ ले बताउनुभयो। प्रतियोगिता अन्तर्गत शुक्रबार समूह चरणको अन्तिम खेल झापाको मिलन क्रिकेट क्लब र सिक्किमको अल्पाइन स्पोर्टिङ क्लबबीच हुनेछ भने फाइनल खेल शनिबार सञ्चालन गरिनेछ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)