झापा । भारतको पश्चिम बङ्गालस्थित सेवक रोड नजिकै कार दुर्घटना भई टिस्टा नदीमा खस्दा एकै परिवारका चार जनाको मृत्यु भएको छ। छिमेकी मुलुक भारतको सिक्किम राज्यबाट सिलिगुडीतर्फ गइरहेको कार अनियंत्रित भई नदीमा खसेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
प्राप्त विवरण अनुसार राष्ट्रिय राजमार्ग १० को सेवक रोड खण्डमा गत शुक्रबार दिउँसो उक्त दुर्घटना भएको थियो। गान्तोकबाट सिलिगुडीका लागि छुटेको सो सवारी साधन अचानक सडकबाट चिप्लिएर टिस्टा नदीको तीव्र बहावमा बेपत्ता भएको थियो। शनिबार साँझ नदीभित्र गाडी रहेको स्थान पहिचान गरिए तापनि खराब मौसम र अँध्यारोका कारण तत्कालै उद्धार कार्य अघि बढाउन नसकिएको प्रहरीले जनाएको छ।
आइतबार बिहानैदेखि भारतको राष्ट्रिय आपदा प्रतिक्रिया बल (NDRF) को टोलीले चलाएको विशेष उद्धार अभियानका क्रममा नदीबाट सो कार बाहिर निकालिएको हो। क्रेनको सहायताले गाडी बाहिर निकाल्दा कारभित्रै चारै जनाको शव फेला परेको थियो।
दुर्घटनामा ज्यान गुमाउनेहरूमा साबिया न्यौपाने, स्मारिका न्यौपाने, टीका माया दाहाल र दित्या क्षेत्री रहेका छन्। मृतकहरूमा एक बालकसमेत सामेल छन्। शवहरूलाई पोस्टमार्टम र अन्य कानुनी प्रक्रियाका लागि सिलिगुडीस्थित उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पताल (NBMCH) मा पठाइएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार मृतकहरूमा सिक्किमको एक मेडिकल कलेजसँग आवद्ध नर्सिङ प्रोफेसर र सांस्कृतिक विभागमा कार्यरत एक इन्जिनियर रहेका छन्। घटनाको वास्तविक कारणबारे त्यहाँको स्थानीय प्रहरीले अनुसन्धान सुरु गरेको छ।

















