हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ३ घण्टा अगाडि

सिक्किममा २१२औँ भानु जयन्ती भव्य रूपमा सम्पन्न: तीन लाख राशिको ‘अनुवाद सेतु पुरस्कार’ स्थापना गरिने

सोरेङ (सिक्किम), ३० असार

Advertisement

नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीको अवसरमा सिक्किमको सोरेङ जिल्लास्थित जौंटार खेलमैदानमा राष्ट्रियस्तरीय भानु जयन्ती समारोह भव्य रूपमा सम्पन्न भएको छ। सोरेङ जिल्ला प्रशासन र भानु जयन्ती समारोह आयोजन समितिको संयुक्त आयोजनामा सम्पन्न उक्त ऐतिहासिक समारोहमा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) मुख्य अतिथिका रूपमा सहभागी हुनुभएको थियो भने उहाँकी धर्मपत्नी शारदा तामाङको पनि गरिमामय उपस्थिति रहेको थियो। समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले राज्यस्तरीय कार्यक्रमहरूलाई राजधानी गान्तोकमा मात्र सीमित नराखी विभिन्न जिल्लाका ग्रामीण क्षेत्रहरूमा आयोजना गर्नाले ओझेलमा परेका स्थानीय प्रतिभाहरूले राष्ट्रिय मञ्च पाउने र क्षेत्रीय भाषा, साहित्य, कला एवम् संस्कृतिको वास्तविक प्रवर्द्धन हुने विश्वास व्यक्त गर्नुभयो। आदिकवि भानुभक्त आचार्यप्रति श्रद्धासुमन अर्पण गर्दै उहाँले नेपाली भाषा र साहित्यको उत्थानमा आदिकविको अतुलनीय योगदानको चर्चा गर्नुका साथै श्रमको गरिमा, विनम्रता र सामाजिक उत्तरदायित्वको सन्देश दिने प्रसिद्ध ‘घाँसी’ कविता वाचन गरेर नयाँ पुस्तालाई प्रेरित गर्नुभयो।

Advertisement

​नेपाली भाषा र साहित्यको विकासमा सिक्किमेली समाजले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याएको योगदानको कदर गर्दै मुख्यमन्त्रीले नेपाली भाषालाई भारतीय संविधानको आठौँ अनुसूचीमा समावेश गराउन नेतृत्वदायी भूमिका खेल्ने तत्कालीन मुख्यमन्त्री स्वर्गीय नरबहादुर भण्डारी र पूर्व लोकसभा सांसद श्रीमती दिलकुमारी भण्डारीको ऐतिहासिक योगदानको स्मरण गर्नुभयो। भाषा र साहित्यको संरक्षणमा राज्य सरकार सधैँ प्रतिबद्ध रहेको स्पष्ट पार्दै उहाँले आगामी वर्षदेखि नेपाली भाषा, साहित्य र अनुवादको क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने एकजना विशिष्ट साहित्यकारलाई प्रत्येक वर्ष भानु जयन्तीको अवसरमा ३ लाख भारतीय रुपैयाँ नगदसहितको ‘अनुवाद सेतु पुरस्कार’ प्रदान गर्ने घोषणा गर्नुभयो। यसका साथै, आगामी वर्षको राष्ट्रिय भानु जयन्ती समारोह पाक्योङ जिल्लामा आयोजना गरिने घोषणा गर्दै उहाँले सम्बन्धित अधिकारीहरूलाई समयमै तयारी सुरु गर्न निर्देशन दिनुभयो।

​समारोहका अवसरमा कञ्चनजङ्घा राज्य विश्वविद्यालय र सिक्किम विश्वविद्यालयबीच ‘कृत्रिम बुद्धिमत्ता मानव जातिको हितमा छ कि छैन?’ भन्ने विषयमा रोमाञ्चक वादविवाद प्रतियोगिता आयोजना गरिएको थियो, जसमा सिक्किम विश्वविद्यालय विजयी बन्यो भने मन्दिरा रावत उत्कृष्ट वक्ता घोषित भइन्। कार्यक्रममा असम नेपाली साहित्य सभाद्वारा प्रकाशित शब्दकोश र किशन दाहालद्वारा लिखित पुस्तकको विमोचन गरिनुका साथै विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने १९ वटा स्थानीय समुदायका प्रतिनिधि, युवा बक्सिङ खेलाडी सोनिया सुब्बा र डिजिटल क्रिएटर सालिनी क्षेत्रीलाई विशेष सम्मान प्रदान गरिएको थियो। कार्यक्रमको प्रारम्भमा मुख्यमन्त्रीले भानु सालिकमा माल्यार्पण गरी परम्परागत शोभायात्राको नेतृत्व गर्नुभएको थियो भने समारोहको समापनमा सोरेङका जिल्लापाल धीरज सुवेदीले धन्यवाद ज्ञापन गर्नुभएको थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)