हल्दीबारी /जिल्लाको हल्दिबारी गाउँपालिका–३ मा रहेको चिल्ड्रेन गार्डेन अंग्रेजी माध्यमिक विद्यालयले विद्यार्थी नेतृत्व विकासका लागि विशेष उदाहरण प्रस्तुत गरेको छ।

विद्यालयले वार्षिक कार्यतालिका अनुसार बैशाख ३० गते, मंगलवारका दिन, भव्य वातावरणमा विद्यालय क्याप्टेनको निर्वाचन सम्पन्न गर्यो।
यो निर्वाचन कार्यक्रममा कुल १० स्थानका लागि ३४ जना उम्मेदवारहरूले प्रतिस्पर्धा गरे, जसमा कक्षा ४ देखि १० सम्मका ३३७ विद्यार्थी मतदाताको रूपमा सहभागी भए।

निर्वाचनको उद्घाटन हल्दिबारी–४ का वडा अध्यक्ष श्री सन्त कुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रममा नेपाल स्काउट राष्ट्रिय सहायक प्रशिक्षक नारायण श्रेष्ठ, जिल्ला कराते प्रशिक्षक दिपेश निरौला, शिक्षक अभिभावक संघ, विद्यालय व्यवस्थापन समिति र सुरक्षाका लागि प्रहरी चौकी जलथलका इन्चार्ज कृष्णप्रसाद दुलालको समेत उपस्थिति थियो।

विद्यालय छात्रा क्याप्टेनको रूपमा कक्षा ९ की जेनिसा भण्डारी निर्विरोध निर्वाचित भइन्। बाँकी पदहरूमा भने अत्यन्तै कडा प्रतिस्पर्धा देखिएको थियो।
चारवटा हाउसबाट छात्रा र छात्र क्याप्टेनको निर्वाचनमा:
पहेलो हाउसबाट एल्सा मेचे र अरुण बस्नेत,
रातो हाउसबाट उपासना सुवेदी र ग्रिष्म मैनाली,
निलो हाउसबाट कृतिका मण्डल र पंकज पौडेल,
हरियो हाउसबाट अनुशा निरौला र उज्वल ढुंगेल विजयी भए।

सबैभन्दा ठूलो पद — स्कुल क्याप्टेन — मा कक्षा ९ का अनुराग ढकालले दिपेश कार्कीलाई २०५ मतको विशाल अन्तरले पराजित गर्दै विजयी भएका छन्।
निर्वाचन अधिकृत शिक्षक किशोर बास्तोलाले भने, “व्यवहारिक सिकाइले मात्र विद्यार्थीहरूको नेतृत्व विकास सम्भव हुन्छ।”
विद्यालयका प्रिन्सिपल दुर्गामणि गौतमले कार्यक्रममा अध्यक्षता गर्दै विद्यार्थीहरूको भविष्य निर्माणमा यस्ता क्रियाकलापको महत्त्वपूर्ण भूमिका रहने बताए।

सहायक प्रिन्सिपल मनोज सुवेदीले नवनिर्वाचित क्याप्टेनहरूसँग विद्यालयको शैक्षिक तथा अतिरिक्त गतिविधिमा नेतृत्वको अपेक्षा व्यक्त गरे।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिवराज भट्टराईका अनुसार, यस्तो अभ्यासले विद्यार्थीहरूमा लोकतान्त्रिक मूल्य र नेतृत्व क्षमताको विकास गर्न मद्दत पुर्याउनेछ।

















