हल्दीबारी, २२ असार– वैदेशिक रोजगारीका क्रममा मलेसियामा ज्यान गुमाएका झापा हल्दीबारी गाउँपालिका–३ निवासी ५२ वर्षीय रामप्रसाद (चुन्तव) मेचेको पार्थिव शरीर सोमबार काठमाडौँ ल्याइएको छ।
गत असार १० गते मलेसियामा असामयिक निधन भएका मेचेको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइपुर्याइएको हो। मृतकका भाइ (मामाका छोरा) एवं पूर्वजनप्रतिनिधि महेशलाल मेचेका अनुसार काठमाडौँ आइपुगेको शवलाई मंगलबार बिहानसम्ममा हल्दीबारी–३ स्थित उनको निजी निवास पुर्याइने छ। विगत १५ वर्षदेखि मलेसियामा कार्यरत मेचेको मृत्युको कारण भने खुल्न सकेको छैन। उनको शवको प्रयोगशाला परीक्षण (ल्याब रिपोर्ट) आउन बाँकी रहेको पारिवारिक स्रोतले जनाएको छ।

मेचेको शव नि:शुल्क रूपमा नेपाल ल्याउन मलेसियन युनिभर्सल कम्पनीका सुपरभाइजर (ताप्लेजुङ निवासी) दिलकुमार सुब्बा र गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका उपाध्यक्ष एवं सामाजिक अभियन्ता राजु योङ्गजन तामाङले समन्वय गरेका थिए।
शव नेपाल ल्याउने प्रक्रियामा हल्दीबारी गाउँपालिका वडा नं. ३ को वडा कार्यालय, स्थानीय जनप्रतिनिधिहरू र संघीय सांसद प्रकाश पाठकले सहयोग गरेका थिए।
