हल्दीबारी (झापा) — उपभोक्ता हित संरक्षण र बजार व्यवस्थापनलाई प्राथमिकता दिँदै झापाको हल्दीबारी गाउँपालिकाले वडा नम्बर ३ स्थित ढडुवा बजारमा आकस्मिक अनुगमन गरेको छ । गाउँपालिकाको नियमित कार्यक्रम अन्तर्गत गरिएको उक्त अनुगमनका क्रममा मापदण्ड विपरीत सञ्चालित पसलहरूलाई कानुनी दायरामा आउन निर्देशन दिइएको छ भने म्याद गुज्रिएका खाद्य सामग्रीहरू जफत गरिएको छ । गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनालीको संयोजकत्वमा गएको टोलीले ढडुवा बजारका खाद्यान्न, लत्ताकपडा, होटल, सुनचाँदी, हार्डवेयर तथा भेटेनरीसहितका व्यवसायहरूको विस्तृत निरीक्षण गरेको थियो ।
अनुगमनका क्रममा उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पुग्ने गरी म्याद गुज्रिएका सामग्री बिक्रीका लागि राखिएका पसलहरूबाट त्यस्ता सामान तत्काल जफत गरिएको छ । पहिलो पटक भएकाले व्यवसायीहरूलाई गल्ती सुधार गर्न चेतावनी दिँदै सचेत गराएर छोडिएको अनुगमन टोलीले जनाएको छ । यसैगरी, बिना इजाजत र आवश्यक कागजात बिना सञ्चालन भएका भेटेनरी लगायतका ३३ वटा पसलहरूलाई आगामी जेठ २० गतेभित्र आवश्यक कानुनी प्रक्रिया पूरा गरी गाउँपालिकामा जानकारी गराउन घटनास्थलमै पत्र काटिएको छ । टोली आएको सुइँको पाएपछि पसल बन्द गरेर हिँडेका ३ वटा पसलमा भने गाउँपालिकामा उपस्थित हुनका लागि आधिकारिक सूचना टाँस गरिएको छ । बजार क्षेत्रको व्यवस्थापनलाई चुस्त बनाउन ढडुवा बजार लाग्ने टहरा अतिक्रमण गरी बस्दै आएका दुई परिवारलाई १५ दिनभित्र सो ठाउँ खाली गर्न निर्देशन दिइएको छ । तोकिएको समयमा ठाउँ खाली नगरे कानुनी प्रक्रिया अघि बढाई बजार क्षेत्र खाली गराउन बजार समितिलाई समेत निर्देश गरिएको छ ।
अनुगमन टोलीले मुख्य गरी व्यवसायीहरूमा कानुनी सचेतना जगाउने उद्देश्य राखेको छ । निरीक्षणका क्रममा पसलको दर्ता प्रमाणपत्र, व्यवसाय नवीकरण, मूल्य सूची, उपभोग्य मिति र गुणस्तरको विस्तृत चेकजाँच गर्दै व्यवसायीहरूलाई उपभोक्ताको अधिकारको सम्मान गर्न तथा सुरक्षित र मर्यादित व्यवसाय सञ्चालन गर्न आग्रह गरिएको छ । गाउँपालिकाका प्रशासन शाखा प्रमुख बाबुराम ढकालका अनुसार आगामी दिनमा हल्दीबारी क्षेत्रका अन्य बजारहरूमा पनि यस्तै आकस्मिक अनुगमनलाई निरन्तरता दिइनेछ । पालिकाको निर्देशन अवज्ञा गर्ने, उपभोक्ता ठग्ने वा अवैध रूपमा व्यवसाय सञ्चालन गर्नेहरूलाई जरिबाना गर्ने र पसल नै सिल गर्नेसम्मको कडा कानुनी कारबाही गरिने गाउँपालिकाले चेतावनी दिएको छ ।
उक्त अनुगमन टोलीमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन महेन्द्र, वडा अध्यक्ष विष्णु प्रसाद ओली, घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधि, उद्योग वाणिज्य सङ्घका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, प्रहरी तथा सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

















