हल्दीबारी (झापा)— रैथाने वनस्पतिलाई नै संकटमा पार्ने गरी वनजंगलमा तीव्र रूपमा फैलिरहेका मिचाहा प्रजातिका झारपात नियन्त्रणका लागि झापाको हल्दीबारीमा विशेष अभियान चलाइएको छ । हल्दीबारी-४ स्थित पाथिभरा कालिका सामुदायिक वन उपभोक्ता समूहले आफ्नो क्षेत्रभित्रको ७५ बिघा वन क्षेत्रमा झाडी सफाइ तथा वृक्षरोपण कार्य सम्पन्न गरेको हो । वनमारा र माइकेनिया (लहरी झार) लगायतका मिचाहा तथा काँडेदार प्रजातिका कारण वनको प्राकृतिक पुनर्उत्पादन (Natural Regeneration) रोकिँदै गएपछि उपभोक्ता समूहले यो कदम चालेको हो ।


चुरे उत्थानशील आयोजना (BRCRN) इटहरी, सुनसरीसँगको लागत साझेदारीमा समूहको वन खण्ड नम्बर १, २ र ३ मा यो कार्यक्रम सञ्चालन गरिएको पाथिभरा कालिका सामुदायिक वनका अध्यक्ष सागर पोर्तेलले जानकारी दिए । वनमारा र माइकेनियाँले रैथाने बिरुवाहरूलाई पुरै मिचेर नयाँ पालुवा पलाउनै दिएका थिएनन् भन्दै अध्यक्ष पोर्तेलले प्राकृतिक रूपमै वनको पुनर्उत्पादन बढाउन झाडी सफाइ सबैभन्दा उत्तम उपाय भएकाले यसलाई प्राथमिकता दिइएको बताए ।


उपभोक्ता समूहका अनुसार चुरे उत्थानशील आयोजना अन्तर्गत वन क्षेत्रलाई सुधार गर्न तीनवटा फरक-फरक स्वरूपमा काम गरिएको छ । जसमध्ये मिचाहा र काँडेदार झाडीले ढाकेको कुल ५० हेक्टर क्षेत्र पूर्ण रूपमा सफा गरिएको छ भने नयाँ बिरुवा अनुकूल वातावरण बनाउन १० हेक्टर क्षेत्रमा खनजोत गरिएको छ । त्यस्तै वनको खाली तथा पातलो भाग रहेको २ हेक्टर क्षेत्रमा नयाँ वृक्षरोपण समेत गरिएको छ ।


मिचाहा प्रजातिका झारहरूले गर्दा वनको जैविक विविधतामा ह्रास आउने र बहुमूल्य काठका नयाँ बिरुवाहरू उम्रिन नपाउने समस्या देशभरीकै वनहरूमा चुनौतीको रूपमा देखिँदै आएको छ । पाथिभरा कालिका वनले सुरु गरेको यो अभियानले वनको हैसियत सुधार्न र प्राकृतिक रूपमै नयाँ बिरुवा हुर्कन ठूलो मद्दत पुग्ने विश्वास स्थानीय उपभोक्ताहरूले लिएका छन् ।


















