झापा, २० असार । झापाको हल्दिबारी गाउँपालिका–१, गोलधापमा एक युवतीलाई आफ्नै घरमा थुनेर जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। घटनाको अनुसन्धानका लागि प्रहरीले पीडित र आरोपित दुवैलाई नियन्त्रणमा लिएर मेडिकल परीक्षण गराएको छ।

​स्थानीय ५१ वर्षीय सोमनाथ (नाम परिवर्तन) ले २४ वर्षीया युवती (नाम परिवर्तन) लाई आफ्नै घरको कोठामा ल्याई ढोका थुनेर जबरजस्ती करणी गरेको आरोप लागेको हो।

​प्रहरीका अनुसार, बिहीबार साँझ करिब सवा ७ बजेको समयमा उक्त घटना भएको हो। पीडित युवतीका भाइले कोठाको ढोका थुनेको देखेपछि खोल्न आग्रह गरेका थिए। तर, आरोपितले तत्काल ढोका नखोली करिब २०–२५ मिनेटपछि मात्र खोलेका थिए।

​घटनाको जानकारी पाउनसाथ प्रहरी चौकी गोलधापबाट प्रहरी नायब निरीक्षकको कमाण्डमा खटिएको टोलीले घटनास्थल पुगेर दुवै जनालाई नियन्त्रणमा लिएको थियो। प्रहरी चौकीबाट करिब ५०० मिटर उत्तरमा रहेको घटनास्थलबाट नियन्त्रणमा लिइएका दुवै जनाको कानुनी प्रक्रिया र प्रमाण संकलनका लागि मेडिकल (स्वास्थ्य) परीक्षण समेत गराइएको प्रहरीले जनाएको छ।

​घटनाका सम्बन्धमा प्रहरीले थप कानुनी अनुसन्धान अगाडि बढाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार