समाचार
हल्दिबारी संवाददाता २ महिना अगाडि

७७ जिल्लाको सोलो बाइक अभियानमा निस्किएकी सितल गिरी ओखलढुङ्गा पुगिन्

काठमाडौँ, ६ जेठ । नेपालकी युवा महिला मोटरसाइकल प्रशिक्षक तथा रोड क्याप्टेन सितल गिरीले देशकै पहिलो ऐतिहासिक एकल मोटरसाइकल यात्रा सुरु गरेकी छन् । ‘नेपाल ७७ – द सोलो राइड अफ अ नेपाली वुमन’ नामक अभियानअन्तर्गत देश दौडाहामा निस्किएकी गिरी हाल ओखलढुङ्गा पुगेकी छन् ।

​नेपाली महिला राइडिङ इतिहासमै पहिलो पटक ७७ वटै जिल्लाको सोलो यात्रा गर्ने साहसिक लक्ष्य बोकेकी उनी ५० देखि ५५ दिनभित्र बिना विश्राम सम्पूर्ण नेपाल भ्रमण सम्पन्न गर्ने तयारीमा छिन् ।

विज्ञापन (Advertisement)Advertisement

​काठमाडौँको सितापाइलाकी २३ वर्षीया सितल सन् २०१८ देखि मोटरसाइकल राइडिङमा सक्रिय छिन् । नेपालकी पहिलो महिला मोटरसाइकल प्रशिक्षक तथा सबैभन्दा कान्छी रोड क्याप्टेनका रूपमा परिचित उनले हालसम्म ४०० भन्दा बढी महिलालाई मोटरसाइकल तालिम दिई आत्मनिर्भर बन्न र लाइसेन्स प्राप्त गर्न सहयोग गरिसकेकी छन् ।

​यसअघि नै ६८ जिल्लाको यात्रा गरिसकेकी सितलले डोल्पासम्मको १५ दिने एकल यात्रा सफलतापूर्वक सम्पन्न गरिसकेकी छन् । अब बाँकी जिल्लासहित लगातार ७७ वटै जिल्ला पुगेर नयाँ इतिहास रच्ने उनको दृढ सङ्कल्प छ ।

६ देखि ७ हजार किलोमिटरको कठिन यात्रा

करिब ६ हजारदेखि ७ हजार किलोमिटर दूरी पार गरिने यस यात्रामा हिमाली भेग, कर्णालीका दुर्गम क्षेत्र, पहाडी मार्ग तथा तराईका लामा राजमार्गहरू समेटिएका छन् । यात्राको ९० प्रतिशत भाग मोटरसाइकलमार्फत र बाँकी १० प्रतिशत दुर्गम क्षेत्रमा पैदल तथा विशेष पहुँचमार्फत पूरा गरिने गिरीले जानकारी दिएकी छन् ।

​सामाजिक सञ्जालमा समेत प्रभावशाली उपस्थिति रहेकी सितलका फेसबुक, टिकटक, इन्स्टाग्राम र युट्युबमार्फत ३ लाख २९ हजारभन्दा बढी फलोअर्स छन् । उनी आफ्नो यस अभियानलाई ऊर्जा, साहस, सहनशीलता तथा महिला सशक्तीकरणको प्रतीकका रूपमा प्रस्तुत गर्न चाहन्छिन् । यात्राका क्रममा दैनिक भिडियो, लाइभ अपडेट, हेल्मेट क्याम फुटेज, रील्स सार्वजनिक गरिने र अन्तिममा एक वृत्तचित्र (डकुमेन्ट्री) समेत निर्माण गरिने योजना रहेको छ ।

​सितल भन्छिन्, “यो केवल मोटरसाइकल यात्रा होइन, यो नेपाली महिलाको आत्मनिर्भरता, साहस र सीमालाई चुनौती दिने एउटा राष्ट्रिय अभियान हो ।”

एनएफपिजेको झण्डा बोकेर देश दौडाहामा

साहसिक यात्रामा रहेकी सितलले हरेक जिल्लामा राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) को झण्डासहित संस्थागत प्रचारप्रसार समेत गरिरहेकी छन् । उनले यात्राका क्रममा भेटिने स्थानीय सञ्चारकर्मीहरूलाई संस्थाको उद्देश्य र गतिविधिको बारेमा जानकारी गराउँदै हिँडेकी छन् । यता एनएफपिजे नेपालले पनि गिरीको यस ऐतिहासिक एवं साहसिक यात्राको पूर्ण सफलताको शुभकामना व्यक्त गरेको छ ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)