हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ९ महिना अगाडि

आसन्न निर्वाचनका तयारीमा रास्वपा झापा, स्वतन्त्र समूहसँग संवादका लागि समिति गठन

बिर्तामोड, कार्तिक २ । आसन्न निर्वाचन नजिकिँदै गर्दा अन्य दलहरू अझै अनिश्चिततामा रहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापा भने पूर्ण तयारीमा जुटेको छ। निर्वाचन आयोगले तोकेको मिति फागुन २१ गते नै निर्वाचन हुने विश्वासका साथ रास्वपाले संगठन र रणनीतिगत तयारी अघि बढाएको हो।

Advertisement

रास्वपा झापाले पाँचै निर्वाचन क्षेत्रका विस्तारित बैठक सञ्चालन गरी प्रारम्भिक तयारी थालेको छ। हालसम्म १, २ र ३ नम्बर क्षेत्रका बैठक सम्पन्न भइसकेका छन् भने तिहारपछि बाँकी दुई क्षेत्रका बैठकहरू बोलाइने जिल्ला सचिव शम्भु सुस्केराले जानकारी दिए। उनका अनुसार कार्तिक मसान्तभित्र सबै बुथमा समिति निर्माण सम्पन्न गर्ने निर्देशन दिइएको छ।

Advertisement

अघिल्लो निर्वाचनमा झापाका पाँचै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको रास्वपाले यस पटक अझ व्यवस्थित तयारीसहित प्रतिस्पर्धा गर्ने जनाएको छ। हाल जिल्लामा पार्टीका २० हजारभन्दा बढी सदस्य रहेका छन्।

यसैबीच, स्वतन्त्र व्यक्ति र समूहलाई पार्टीमा आकर्षित गर्न रास्वपा झापाले पाँच सदस्यीय संवाद समिति गठन गरेको छ। कार्यवाहक जिल्ला सभापति प्रकाश पाठकको संयोजकत्वमा बनेको समितिमा केन्द्रीय संगठन विभागका सदस्य ओमनाथ भण्डारी, विभागीय सदस्य शरद जोशी, प्रदेश सदस्य नारायण घिमिरे र जिल्ला सचिव शम्भु प्रसाद ढकाल रहेका छन्।

समितिलाई स्वतन्त्र व्यक्ति र समूहसँग वार्ता गरी पार्टीमा भित्र्याउने जिम्मेवारी दिइएको छ। रास्वपाको भनाइअनुसार, अघिल्लो निर्वाचनमा स्वतन्त्र उम्मेदवार, समूह र रास्वपा छरिएर चुनावमा होमिँदा कांग्रेस र एमालेले १७ सिटमा फाइदा पाएका थिए। यसपटक ती शक्ति एकीकृत भई प्रतिस्पर्धा गरेमा नयाँ शक्ति बलियो रूपमा उदाउने रास्वपाको विश्वास छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)