नयाँ दिल्ली । ९० को दशकका चर्चित बलिउड अभिनेता गोविन्दा करिब पाँच वर्षपछि पुनः ठुलो पर्दामा फर्किने भएका छन्। आफ्ना सदाबहार नृत्य र अभिनयका कारण दर्शकको मन जित्न सफल उनी आगामी चलचित्र ‘रूपा’ मार्फत अभिनयमा कमब्याक गर्न लागेका हुन्।

चलचित्रको प्रचारप्रसारका क्रममा आयोजित पत्रकार सम्मेलनमा अभिनेता गोविन्दाले आफ्नो करियरका उतारचढाव, संघर्ष र लकी नम्बर ‘१४’ सँग जोडिएका रोचक प्रसंगहरू साझा गरे। अंक ज्योतिष (न्यूमरोलोजी) मा आफ्नो गहिरो विश्वास रहेको बताउँदै उनले ‘१४’ नम्बर आफ्नो जीवनको टर्निङ प्वाइन्ट रहेको खुलासा गरे।

”मेरो नाम पनि न्यूमरोलोजी अनुसार नै राखिएको थियो, म १४ वर्षको उमेरदेखि नै यसमा विश्वास गर्न थालेको हुँ,” उनले भने, “एक समय यस्तो थियो जब मैले एकै हप्तामा १४ वटा चलचित्र साइन गरेको थिएँ। त्यसपछि करिब १४ वर्षसम्म म सुपरस्टार रहेँ र पछि १४ औँ लोकसभाको सांसदसमेत बनेँ।” उनले थपे, “अहिले १४ वर्षको संघर्षपूर्ण अवधि पार गरेर म पुनः चलचित्रमा फर्कँदै छु।”

आफ्नो संघर्षका दिनहरू सम्झँदै गोविन्दाले विगतमा गाउँका मानिसहरूले आफ्नो सपनाको खिल्ली उडाएको स्मरण गरे। “म न चुरोट-रक्सी खान्थेँ, न त माछामासु र लसुन-प्याज नै। मानिसहरूले मलाई डरपोक भन्थे र फिल्म हिरो हुनुभन्दा साधु बन्ने सल्लाह दिन्थे,” उनले भने।
तर, जस्तोसुकै कठिन परिस्थितिले पनि आफूलाई थप बलियो बनाएको र सधैँ आमाको सपना पूरा गर्न लागिपरेको उनले बताए। ‘रूपा’ चलचित्रले युवा पुस्तालाई आफ्ना सपनाहरू पूरा गर्न प्रेरित गर्नेमा उनी विश्वस्त छन्।