झापा । झापाको डोमालाल राजवंशी रंगशालामा जारी सातौँ झापा गोल्डकप फुटबल प्रतियोगितामा एपीएफ फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ।
एपीएफले आयोजक झापा–११ फुटबल क्लब लाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो। निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। एक गोलले पछि परेको अवस्था उल्टाउँदै एपीएफले कमब्याक जित निकालेको हो।
टाइब्रेकरमा एपीएफका सुमन श्रेष्ठ, दिपेश धिमाल, सन्तोष खत्री र समिराज थोकरले गोल गरे। नविन लामाको प्रहार भने झापाका गोलकिपर सन्दीप लिम्बुले रोकेका थिए। झापाका तर्फबाट रोमन भुजेल र रोहन कार्कीले मात्र गोल गर्न सके। नारायण क्षेत्री र गौरव धिमालको प्रहार एपीएफका गोलकिपर एञ्जल श्रेष्ठले बचाए।
खेलको ६१औँ मिनेटमा नारायण क्षेत्रीको कर्नरमा विदेशी खेलाडी रिचार्ड विल्सनले गोल गर्दै झापालाई अग्रता दिलाएका थिए। तर ६७औँ मिनेटमा एपीएफका स्ट्राइकर नविन लामाले डिबक्स बाहिरबाट प्रहार गर्दै खेल बराबरीमा ल्याए।
यसअघि ३९औँ मिनेटमा रोहन कार्कीको प्रहार क्रसबारमा लागेर फर्किएको थियो भने ५७औँ मिनेटमा रिचार्ड विल्सनको लामो दूरीको प्रहार बारमाथिबाट बाहिरिएको थियो। एपीएफले ३०औँ मिनेटमा दिपेश धिमालमार्फत पाएको सुन्दर अवसर पनि सदुपयोग गर्न सकेन।
खेलको ‘प्लेयर अफ द म्याच’ एपीएफका गोलकिपर एञ्जल श्रेष्ठ घोषित भए। उनले नगद २५ हजार रुपैयाँ प्राप्त गरे।
प्रतियोगिताको अन्तिम सेमिफाइनलमा शनिबार त्रिभुवन आर्मी फुटबल क्लब र मछिन्द्र फुटबल क्लब बीच प्रतिस्पर्धा हुनेछ।
उपाधि विजेताले १५ लाख रुपैयाँ र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। उत्कृष्ट खेलाडीलाई यामाहा कम्पनीको मोटरसाइकल प्रदान गरिनेछ भने उत्कृष्ट प्रशिक्षक, उच्च गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई जनही ३५ हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ।
प्रतियोगिताको फाइनल खेल फागुन ४ गते हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार