समाचार
हल्दिबारी संवाददाता ८ महिना अगाडि

कविता :भोज कता तिर पाक्न लागेको छ ?

साइरनको आवाजसँगै बस्तीमा कोलाहल मच्चिँदा
धरतीमा आँखा खोलेको उसले
कति युद्ध देखिसकेको छ,
कति युद्धहरू भोगिसकेको छ।

सुरुङ युद्धदेखि भोक–युद्ध हुँदै
बजार–युद्धमा मान्छे हराउन थालेपछि
फेरि एकचोटि युद्धको बजार तातेको छ।
लेक, बेंसी सबै मातिएको छ।
दिउँसै ग्रहण लाग्न थालेको छ—
न त औँसी आउनुपर्छ,
न त पूर्णिमा आउनुपर्छ।

विज्ञापन (Advertisement)Advertisement

आखिर युद्ध उसको लागि हो ?
कि ऊ युद्धका लागि हो ?
प्रश्न अझै अनुत्तरित छ।

सबै युद्धमै दौडिरहेका छन्,
साम, दाम, दण्ड, भेद—सबै नीति चलिरहेछन्।
मात्र ऊ एक्लो छ।
न ऊ बाङोटिङ्गो बाटो हिँड्न सक्छ,
न कसैको पिठ्युँ चढेर दौडिन सक्छ।
न जितमा कुनै दम्भ हुन्छ,
न हारमा कुनै पीडा हुन्छ।
किनभने—
युद्धको संसार उसले बुझेको छ,
युद्ध उसले भोगेको छ।

अदृश्य शक्तिको बलमा
तिमीले चिल्लो बाटो रोजे पनि
आफ्नै युद्धको बाटो उसको रोजाइमा छ।
भुईँमान्छेकै ऊ खोजाइमा छ।

त्यसैले त—
तिमीले जितेर पनि युद्ध हारेका छौ,
उसले हारेर पनि युद्ध जितेको छ।

सायद त्यसैले होला,
औँसी–पूर्णिमा नभए पनि
दिउँसै ग्रहण लाग्न थालेको छ।
भुईँमान्छेहरू साउती मार्दैछन्।
भोज कता तिर पाक्न लागेको छ ?

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)