देशबन्धु क्षेत्री
जो सम्बन्ध हृदयसँग जोडिन्छ,
त्यो शब्दले होइन—
धड्कनले लेखिन्छ।
त्यो आँखाले होइन—
आत्माले देखिन्छ।

रगतभन्दा गाढा,
समयभन्दा बलियो,
दूरीभन्दा ठूलो
त्यो नाता
माया मात्र होइन—
जीवनको साहस हो।

भीडले घेरिएको शहरमा
जब मान्छे एक्लिन्छ,
जब आफ्नै छायाँले पनि
साथ छोड्छ,
त्यही बेला
एउटा स्वर कानमा बज्छ
“म तिम्रो छेउमै छु।”

त्यो स्वर
वसन्तभन्दा मीठो,
आकाशभन्दा विशाल,
र संसारका सबै
धन–सम्पत्तिभन्दा
अमूल्य हुन्छ।

तिमी हाँस्दा
मेरो बिहान उज्यालो हुन्छ,
तिमी रुदा
मेरो साँझ अँध्यारो हुन्छ।
तिम्रो पीडा
मेरो छातीमा बल्छ,
तिम्रो सपना
मेरो आँखामा टाँसिन्छ।

यही त हो
श्रृंगारको साँचो अर्थ—
फूल साटासाट होइन,
हृदय साटासाट हो।

तर हाम्रो प्रेम
केवल गीत र गुलाबमा सीमित छैन,
यो त पसिनाले लेखिएको कथा हो,
संघर्षले बनेको
इतिहास हो।

हामी हात समातेर
सिर्फ बाटो हिँड्दैनौं,
हामी बाटो बनाउँछौं।

भोकसँग लड्छौं,
अभावसँग जुध्छौं,
अन्यायको अगाडि
छाती तानेर उभिन्छौं।

किनकि
साँचो माया कहिल्यै डराउँदैन,
यो क्रान्ति जस्तै हुन्छ—
जहाँ टेक्छ
त्यहीँ परिवर्तन उम्रिन्छ।

तिम्रो काँधमा टेकेर
म शक्ति पाउँछु,
मेरो हात समातेर
तिमी साहस बटुल्छौ।
हामी दुई जना होइनौं,
एउटै विश्वास हौं।

जब समाज
जात, वर्ग र स्वार्थले टुक्रिन्छ,
हामी भन्छौं—
“मान्छे हुनु नै ठूलो परिचय हो।”

जब अँध्यारोले
उज्यालोलाई
निल्न खोज्छ,
हामी दीपक बन्छौं।
जब अन्यायले
आवाज थिच्न खोज्छ,
हामी गर्जना बन्छौं।

हाम्रो प्रेम
कायरहरूको लुकेको कथा होइन,
यो त सडकमा उत्रिएको घोषणा हो—
“साथ छ भने
संसार बदलिन्छ।”

रात जति गाढा भए पनि
हामी बिहान बोक्छौं,
आँधी जति
ठूलो आए पनि
हामी विश्वास रोप्छौं।

किनकि
जो सम्बन्ध हृदयसँग जोडिएको हुन्छ,
त्यो कहिल्यै टुट्दैन,
त्यो लड्छ,
उठ्छ,
फेरि उज्यालो खोज्छ।

त्यो सम्बन्ध
माया पनि हो,
आन्दोलन पनि हो,
सपना पनि हो,
र भविष्यको
बीउ पनि हो।

आऊ,
हातमा हात राखौँ,
आँखामा सपना राखौँ,
र यो संसारलाई
हाम्रो प्रेमले
अझ मानवीय बनाऔँ।

किनकि
हृदयसँग जोडिएको सम्बन्ध
निजी कथा मात्रै होइन
यो त मानवताको
सबैभन्दा ठूलो
क्रान्ति हो।
भद्रपुर, झापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार