नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले पार्टी सभापति शेरबहादुर देउवाको कदमले १४ औँ महाधिवेशन निष्पक्ष हुन्छ भन्ने कुरामा गभीर आशंका पैदा भएको जनाएको छ। पौडेल पक्षीय केन्द्रीय सदस्यहरूको सोमबार पार्टी कार्यालय सानेपामा बसेको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘यतिबेला नेपाली कांग्रेसको साढे सात दशक लामो इतिहास र कांग्रेसको स्थापित मान्यता र परम्परामा कहिल्यै नभोगेको तिक्त घटना झेल्नु पर्दा नेपाली कांग्रेसका साथीहरूले निकै ठूलो तनाव महसुस गरेका छन्। कांग्रेसको विधान र देशको संविधानको समय सीमाभित्र महाधिवेशन गर्न नसक्नु अत्यन्त दुःखद हो।’

१४ औँ महाधिवेशनको सिलसिलामा देखिएका अवैधानिक र अलोकतान्त्रिक गतिविधिबाट महाधिवेशन निष्पक्ष हुन्छ भन्ने कुरामा गभीर आशंका पैदा भएको पौडेल समूहको ठहर छ। जारी विज्ञप्तिमा भनिएको छ, ‘क्रियाशील सदस्यता वितरणमा डडेलधुरालगायतका, अधिकांश जिल्लामा पार्टी प्रवेशका नाममा निर्धारित विधि, प्रक्रिया र मापदण्ड विपरित फर्जी नाम समावेश गर्ने, प्रकृयासम्मत् तलैबाट आएका नामहरू केन्द्रबाटै थपघट एवं हेरफेर गर्ने र क्रियाशील सदस्यता विवाद समाधान नै नगरी नेताहरूको सहमति विपरित नै प्रहरी प्रशासनको आडमा वडा अधिवेशन भयो भनिनु चरम अराजकता र मनपरितन्त्र हो।’ डडेल्धुरा मात्र नभएर सुनसरीलगायतका मुलुकका अन्य ठाउँमासमेत सत्ता र शक्तिको चरम दुरुपयोग गरेको आरोप लगाइएको छ।

देशव्यापी रुपबाट एकैपटक महाधिवेशन गर्ने परम्परा तोडेर अधिवेशन प्रारम्भ भएको एक हप्तासम्म २० जिल्लाको क्रियाशील सदस्य सूची अझै टुङ्गो लगाउन नसकेको विज्ञप्तिमा जनाइएको छ। विधि विधानविपरित अधिकांश जिल्लामा क्रियाशील सदस्यताकै विषयमा गम्भीर बिवाद उत्पन्न भएको भन्दै विज्ञप्तिमा क्रियाशील सदस्यता वितरणमा भएको गैरजिम्मेवारी, मनपरी अराजकताले कांग्रेस लोकतान्त्रिक आदर्श संस्कार अनुरूपको पार्टी नरहने खतराको लक्ष्यण देखा पर्न थालेको बताइएको छ।