हल्दिबारी डटकम
Hover Ad Article
अर्थ
हल्दिबारी संवाददाता ५ घण्टा अगाडि

​रु १ को नयाँ सिक्कामा ‘चुच्चे नक्सा’ नराख्ने निर्णयले विवाद, राष्ट्र बैंक भन्छ- ‘प्राविधिक हेरफेर मात्र’

काठमाडौँ । नेपाल राष्ट्र बैंकले १ रूपैयाँको नयाँ सिक्काबाट लिम्पियाधुरा, कालापानी र लिपुलेक समावेश गरिएको चुच्चे नक्सा हटाउने प्रस्ताव अघि बढाएपछि मुलुकको राजनीतिक वृत्तमा नयाँ तरङ्ग र बहस सुरु भएको छ। तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारका बेला जारी गरिएको उक्त संशोधित राजनीतिक नक्साको सट्टा १ रूपैयाँको नयाँ सिक्कामा बौद्ध गुम्बाको चित्र राख्ने तयारी भएपछि सरकार र केन्द्रीय बैंकको कदमप्रति विभिन्न राजनीतिक दल तथा नेताहरूले कडा आपत्ति जनाएका छन्।

Advertisement

​विशेषगरी वामपन्थी राजनीतिक वृत्तबाट सरकारको यो निर्णयलाई राष्ट्रिय हित र भौगालिक अखण्डता प्रतिकूल भएको टिप्पणी हुन थालेको छ। नेकपाका नेता भीम रावलले राष्ट्र बैंकको यो तयारी नेपालको क्षेत्रीय अखण्डता र सार्वभौमिकतामाथिको गम्भीर आघात भएको भन्दै कडा शब्दमा भर्त्सना गरेका छन्। उनले १ रूपैयाँको सिक्काबाट देशको आधिकारिक नक्सा हटाएर बौद्ध गुम्बाको चित्र राख्ने निर्णय राष्ट्रविरोधी भएको आरोप लगाउँदै यसबारे सरकार र सत्तारूढ दलले अविलम्ब आफ्नो आधिकारिक धारणा स्पष्ट पार्नुपर्ने माग गरेका छन्।

Advertisement

​यता, विवाद सिर्जना भएपछि नेपाल राष्ट्र बैंकले भने यो निर्णयलाई विशुद्ध प्राविधिक र व्यावहारिक हेरफेरको संज्ञा दिएको छ। राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलका अनुसार सिक्काको ढाँचा परिमार्जन गर्नुको मुख्य उद्देश्य तौल र आकार घटाएर धातुको लागत सन्तुलन गर्नु मात्र हो। नयाँ डिजाइन अनुसार १ रूपैयाँको सिक्काको तौल ४ ग्रामबाट घटाएर ३.२ ग्राम र २ रूपैयाँको सिक्काको तौल ५ ग्रामबाट घटाएर ३.८ ग्राम कायम गरिनेछ। साथै, अब बन्ने सिक्काहरू साविकको पहेँलो रङको सट्टा स्टिलको सेतो रङमा ढालिनेछन्। केन्द्रीय बैंकले १ रूपैयाँको सिक्कामा नक्सा हेरफेर गरिए पनि २ रूपैयाँको नयाँ सिक्कामा भने नेपालको वर्तमान चुच्चे नक्सा नै यथावत् रहने स्पष्ट पारेको छ।

​नेपाल र भारतबीच लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई लिएर लामो समयदेखि सीमा विवाद रहँदै आएको छ। सन् १८१६ को सुगौली सन्धि अनुसार महाकाली (काली) नदीलाई दुई देशबीचको अन्तर्राष्ट्रिय सीमा मानिएको छ, तर नदीको वास्तविक उद्गमस्थललाई लिएर दुवै पक्षका फरक-फरक दाबी छन्। नेपालले महाकालीको मुहान लिम्पियाधुरा भएको र सोही आधारमा कालापानी र लिपुलेकसहितको भूभाग नेपालकै भएको अडान राख्दै सन् २०२० मा नयाँ नक्सा जारी गरेको थियो। उता भारतले भने काली नदीको उद्गम कालापानी नजिकै रहेको दाबी गर्दै ती भूभागहरू आफ्नो उत्तराखण्ड राज्यमा पर्ने बताउँदै आएको छ। चीनको सीमासँग जोडिएको र प्रसिद्ध कैलाश मानसरोवर यात्राको पैदल मार्गसमेत पर्ने भएकाले रणनीतिक दृष्टिकोणले यो क्षेत्र अत्यन्तै संवेदनशील मानिन्छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)