सप्तरी, १९ साउन । लगातारको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ। आइतबार साँझ कोशी ब्यारेजमा प्रतिसेकेण्ड एक लाख ९१ हजार २१० क्युसेक पानीको बहाव मापन गरिएको थियो।

आज बिहान गरिएको मापनअनुसार कोशी ब्यारेज हुँदै एक लाख ७५ हजार ६८५ क्युसेक प्रतिसेकेण्ड पानी बगिरहेको छ। सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाका अनुसार, ब्यारेजका ५६ ढोकामध्ये २३ वटा ढोका खोलिएको छ।

कोशी ब्यारेज भएर पानीको बहाव एक लाख ५० हजार क्युसेकभन्दा माथि पुगेपछि खतराको संकेतस्वरूप रातो बत्ती बालिने प्रावधानअनुसार अहिले रातो बत्ती बालिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ।
यसअघि २०६५ साल भदौ २ गते, जब कोशीमा एक लाख ६८ हजार क्युसेक पानी बगिरहेको बेला पूर्वी तटबन्ध भत्किएको थियो, त्यसले ठूलो जनधनको क्षति पुर्याएको स्मरणीय छ।
हालैको बहाव अझै खतराको सीमामा रहेकाले कोशी आसपासका बासिन्दालाई सतर्क रहन र आवश्यक सावधानी अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन्।