काठमाडौँ, २६ असार । काठमाडौँको राहदानी विभाग अगाडि ‘राइड सेयरिङ’ गर्ने मुगुका २५ वर्षीय युवा गणेश नेपालीले गरेको आत्मदाह र त्यसपछि भएको उनको निधनलाई लिएर अग्रज पत्रकार किशोर श्रेष्ठले राज्य र यहाँका नियमहरूमाथि गम्भीर प्रश्न उठाएका छन्।
सामाजिक सञ्जालमा दुःख र आक्रोश व्यक्त गर्दै पत्रकार श्रेष्ठले यो घटनालाई काठमाडौँको निर्दयी प्रशासनिक नियम र गरिबीको एउटा विदारक तस्बिरका रूपमा प्रस्तुत गरेका छन्। उनी लेख्छन्, “गोजीमा ८० रुपैयाँ, बाइकको ह्विल लक र नयाँ नियम १० हजार जरिवाना।”


बिहीबार राहदानी विभाग अगाडि पार्किङ गरिएको मोटरसाइकलमा महानगरले ह्वील लक लगाएपछि जरिवाना तिर्ने पैसा नभएर ती युवाले आत्मदाहको बाटो रोजेका थिए। वीर अस्पतालमा उपचारका क्रममा ती युवाको निधन भएपछि श्रेष्ठले तीतो यथार्थ पोख्दै अगाडि लेखेका छन्, “अलविदा जनताको छोरा गणेश ! तिमी उपचारका लागि दिल्ली पुग्न पाएनौ। तिम्रो मृत्युमा शव ओसारपसार र राजनीतिक स्वामित्वको लफडा कुनै दल र सरकारले ब्यहोर्नु परेन।”
परिवर्तन र समृद्धिका नारा लगाउने राजनीतिक दल र सरकारहरूले सधैँ गरिब र निमुखा वर्गलाई नै प्रताडित गर्ने गरेको भन्दै उनले सामाजिक संरचनाप्रति नै गहिरो चोट गरेका छन्। श्रेष्ठले भावुक हुँदै लेखेका छन्, “भन्छन् नि, सबथोक होस् तर गरिब र निमुखाको घरमा कोही, कसैको, कहिल्यै जन्म नहोस्। न कुनै नेपालीले ठाउँ ठाउँबाट रुँदै लखेटिनुपर्ने गरी सुकुम्बासी नै हुनु परोस्।”
पत्रकार श्रेष्ठले आफ्नो यो भनाइमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकारवादी निकायहरू, परराष्ट्र मन्त्रालय, यातायात मन्त्रालय, नेपाल प्रहरी र काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको समेत ध्यानाकर्षण गराएका छन्। सडकमा श्रम गरेर गुजारा चलाउने सामान्य नागरिकलाई नियमको नाममा आत्महत्याको स्थितिसम्म पुर्याउने सरकारी संयन्त्रको व्यवहारप्रति उनको यो अभिव्यक्तिले अहिले चौतर्फी बहस सिर्जना गरिदिएको छ।
