बिर्तामोड: अभियन्ता खिलप्रसाद सिवाकोटीको नेतृत्वमा बिर्तामोड–८ गरामनी बजारस्थित दुर्गामन्दिर परिसरमा नागरिक भेटघाट चौतारी निर्माण सम्पन्न गरी आज उद्घाटन गरिएको छ।
बिर्तामोड नगरपालिकासहित विभिन्न दाताहरुबाट प्राप्त आर्थिक सहयोग र संयोजक सिवाकोटीसहित स्थानीय बासिन्दाको जनश्रमदानमा चौतारीको निर्माण सम्पन्न भएको हो।

उद्घाटन कार्यक्रममा नगरप्रमुख पवित्रा महतारा प्रसाईं, झापा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित ईन्दिरा राना मगर, सहारा नेपाल साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरी, प्रखर वक्ता रमेश प्रसाईं, साहित्यकार केशव आचार्य लगायत सामाजिक अभियन्ता, राजनीतिक व्यक्तित्व र जनप्रतिनिधि उपस्थित थिए।
कार्यक्रममा अभियन्ता सिवाकोटीले चौतारी निर्माणमा सहयोग गर्ने दाता र आम्दानी–खर्चको विवरण सार्वजनिक गर्नुभयो।
नगरप्रमुख प्रसाईंले चौतारी परिसरमा समीको विरुवा रोपेर कार्यक्रमको थालनी गर्नुभयो भने समाजसेवी महेन्द्रकुमार गिरीले बुद्धको प्रतिमा अनावरण गर्नुभयो। नगरप्रमुख प्रसाईंले नगरक्षेत्रमा विकासका काममा कार्यपालिका सदैव तत्पर भए पनि बजेटको सीमाका कारण चाहेजति गर्न नसकेको उल्लेख गर्नुभयो।
खिलप्रसाद सिवाकोटीको अग्रसरतामा निर्मित चौतारीले सबै उमेर समूहका लागि विश्राम गर्ने थलो बनेको र निर्माण कार्यमा संलग्न सबैलाई धन्यवाद दिनुभयो।
नवनिर्वाचित सांसद ईन्दिरा राना मगरले आफूलाई विजयी बनाउन भूमिका खेल्ने सबै मतदाताहरुलाई आभार प्रकट गर्नुभयो।
कार्यक्रममा साहित्यकार केशव आचार्यले गजल प्रस्तुत गर्नुभयो भने सर्जक देवीचरण भण्डारी र प्रखर वक्ता रमेश प्रसाईंले कविता वाचन गर्नुभयो। समीर अधिकारीले देशभक्तिको सन्देश बोकेको गीत गाउनु भयो।
