गौरादह, झापा । झापाको गौरादह नगरपालिका–६ धोपा टोलमा गए राति चट्याङ लागेर भीषण आगलागी भएको छ। अविरल वर्षा र हावाहुरीसहित परेको चट्याङका कारण स्थानीय ५० वर्षीय अजय कुमार झाको घर र गोठमा क्षति पुगेको हो। राति करिब ११:३० बजेको समयमा परेको चट्याङले झाको टिनको छानो र बाँसको बेरा भएको एकतले भान्साघर तथा सोहीसँगै जोडिएको गोठ (ग्वाली) मा आगो सल्केको थियो।
आगलागीबाट भान्साघर र गोठ पूर्ण रूपमा जलेर नष्ट भएको छ। घरभित्र रहेका ग्यास सिलिण्डर, ८० केजी चामल, साइकल, विद्युत् मिटर, वाइफाइ राउटर, भाँडाकुँडा, अन्नपात र फर्निचर गरी ठूलो परिमाणमा धनमाल क्षति भएको प्रहरीले जनाएको छ। यस्तै, गोठभित्र रहेका ६ वटा बाख्रा (दुईवटा माउ र चारवटा पाठा) समेत जलेर मरेका छन्। प्रारम्भिक विवरण अनुसार यस आगलागीबाट करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल पूर्ण रूपमा नष्ट भएको छ।
घटनामा कुनै मानवीय क्षति भने हुन नपाएको प्रहरीले उल्लेख गरेको छ। आगलागीको खबर प्राप्त हुनासाथ गौरादह नगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सक्रियतामा आगो निभाउने कार्य सुरु गरिएको थियो। सबैको सामूहिक प्रयासबाट आज बिहान १:०० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो। हावाहुरी र चट्याङका कारण जिल्लाका अन्य स्थानमा पनि सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।


















