झापा, हल्दीबारी । झापाको हल्दीबारीमा जलथल खानेपानी तथा सरसफाई उपभोक्ता समितिको पाँचौँ वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष केदार प्रसाद उप्रेतीको सभापतित्व तथा हल्दीबारी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीदेवी मैनालीको प्रमुख आतिथ्यतामा सो साधारण सभा सम्पन्न भएको हो।

कार्यक्रममा हल्दीबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर बन (महेन्द्र) विशिष्ट अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी विशेष अतिथिका रूपमा जग्गादाता इन्द्र प्रसाद खरेल र संस्थाका पूर्व अध्यक्ष नवराज खरेल रहनुभएको थियो भने अतिथिका रूपमा पाथीभरा सिंहकाली धार्मिक स्थलका अध्यक्ष जय प्रसाद पोखरेल, लाखधव्ज कन्दङ्गवा, खानेपानी समितिका पदाधिकारीहरू, कर्मचारीहरू, सञ्चारकर्मी, सुरक्षाकर्मी तथा विभिन्न सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

संस्थाका उपाध्यक्ष जीवन कुमार अधिकारीले स्वागत मन्तव्यमार्फत उपस्थित सम्पूर्णलाई स्वागत गर्नुभएको साधारण सभामा लेखा संयोजक देवीप्रसाद ओलीले संस्थाको पारदर्शी लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा बोल्दै पूर्व अध्यक्ष नवराज खरेल, प्रमुख प्रशासकीय अधिकृत मान बहादुर बन र प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनालीले खानेपानी संस्थाले स्थानीय स्तरमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

साधारण सभाको विशेष अवसर पारेर संस्थामा आबद्ध दुई जना उत्कृष्ट उपभोक्ताहरूलाई सम्मान समेत गरिएको थियो। सम्मानित हुनेहरूमा पुरुषतर्फ लाखधव्ज कन्दङ्गवा र महिलातर्फ सोम कुमारी तामाङ रहनुभएको छ। उहाँहरूलाई कार्यक्रमका अतिथिहरूबाट सम्मानपत्रद्वारा सम्मानित गरिएको थियो।

कार्यक्रममा अध्यक्ष केदार प्रसाद उप्रेतीले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै जलथल खानेपानीको सेवा र दायरा निकै प्रभावकारी रूपमा अघि बढिरहेको जानकारी दिनुभयो। प्रतिवेदन अनुसार संस्थामा हाल कुल सदस्य सङ्ख्या २ हजार २०२ पुगेको छ, जसमध्ये १ हजार ९८० सदस्यका घरमा धारा जडान भइसकेको छ। संस्थाले आफ्नो सेवा विस्तार गर्ने क्रममा पहिले ९७ किलोमिटर रहेको पाइपलाइनलाई बढाएर अहिले १२० किलोमिटरसम्म पुर्‍याउन सफल भएको विवरण अध्यक्षको प्रतिवेदनमा समेटिएको छ। भव्य रूपमा सम्पन्न भएको उक्त साधारण सभाको सञ्चालन तथा सहजीकरण संस्थाका सदस्य बलराम गिरीले गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार