हल्दिबारी (झापा) — जेसीआई हल्दिबारीको पहलमा झापाको हल्दिबारी–२ निवासी स्व. आरती राजवंशीको परिवारका लागि निर्माण भइरहेको घरको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जेसीआई नेतृत्वको टोलीले स्थलगत अवलोकन गरेको छ । वि.सं. २०८३ साल जेठ १७ गते बेलुका सम्पन्न उक्त अवलोकन कार्यक्रममा जेसीआईका उच्चपदस्थ पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
मानवीय अभियान अन्तर्गत सञ्चालन भइरहेको उक्त घर निर्माण कार्यको प्रगति बुझ्न जापानबाट अन्तर्राष्ट्रिय जेसीआईका उपाध्यक्ष सेन केन्गो सुजुकी विशेष रूपमा उपस्थित हुनुभएको थियो । यस्तै नेपाल जेसीआईका कार्यकारी उपाध्यक्ष, उपाध्यक्ष, निवर्तमान कार्यकारी उपाध्यक्ष तथा राष्ट्रिय मुख्य प्रशिक्षक लगायतका विभिन्न राष्ट्रिय पदाधिकारीहरूले पनि स्थलगत भ्रमण गर्नुभएको थियो ।
अवलोकनका क्रममा जेसीआई हल्दिबारीले आगन्तुक टोलीलाई स्वागत गर्दै आरती राजवंशीका बुबासँग भेटघाट तथा छलफलको व्यवस्था मिलाएको थियो । सो अवसरमा टोलीले निर्माणाधीन घरको अवस्था, अभियानको हालसम्मको प्रगति र आगामी योजनाबारे विस्तृत जानकारी आदानप्रदान गरेको थियो ।
कार्यक्रममा हल्दिबारी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, जेसीआई हल्दिबारीका अध्यक्ष जेसी नितेश खरेल, संस्थापक अध्यक्ष युनिता दवाडी, महासचिव अनिल चौहान, कानुनी सल्लाहकार जेसी योगेश कार्की, हल्दिबारी वडा नं. ४ का वडा सदस्य सुरेन्द्र बराकोटी तथा जेसीआई हल्दिबारीकी सल्लाहकार हीमा पौडेल लगायतको उपस्थिति रहेको थियो ।
अवलोकनमा सहभागी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नेतृत्व र स्थानीय प्रतिनिधिहरूले विपन्न परिवारका लागि घर निर्माण गरिदिएकोमा जेसीआई हल्दिबारीको मानवीय अभियानको उच्च प्रशंसा गरे । उनीहरूले संस्थाले सञ्चालन गरिरहेको यस्तो सेवामूलक कार्यले समाजमा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका कार्यलाई निरन्तरता दिन शुभकामना व्यक्त गरेका छन् ।

















